खेलाडी र प्रशिक्षकलाई अनलाइन मनोवैज्ञानिक कक्षा
काठमाडाैं। नेपाल ओलम्पिक कमिटीले आज टोकियो ओलम्पिकको छनोट खेल खेल्ने, वाइल्ड कार्डका लागि तयारी गरेका र छात्रवृत्ति पाएका खेलाडी, प्रशिक्षक तथा संघसँग भिडिओ कन्फ्रेन्स गरेको छ।

लकडाउनमा खेलाडी, प्रशिक्षकको अवस्था बुझ्न र उनीहरूलाई केही समस्या परेको भएको सामाधानसमेत गर्ने उद्देश्यले भिडिओ कन्फ्रेन्स गरिएको हो।

कोभिड-१९ का कारण ११ चैतदेखि लकडाउन भएकाले खेलाडी घरभित्रै हुँदा उनीहरूलाई मानसिक, शारीरिकरूपमा तन्दुरुस्त राख्न  विभिन्न चरणमा भिडिओ कन्फ्रेन्समार्फत् छलफल गरिएको छ।

छलफलपछि पोषणविद्सँग नियमित सम्पर्क गराएर खेलाडीको खेलअनुसारको डाइट दिनेलगायतको कार्य हुनेछ भने कमिटीले बनाएको डाक्टरको समूहले अनुगमन गर्नेछन्।

कमिटीले ३० चैतबाट खेलाडी तथा प्रशिक्षकका लागि मनोवैज्ञानिक कक्षा अनलाइनमार्फत् सञ्चालन गर्नेछ। छलफलमा सहभागी खेलाडी प्रशिक्षकले एनओसीले अप्ठ्यारो परिस्थितिमा अभिभावकत्व ग्रहण गरेको भन्दै खुशी व्यक्त गरेका थिए।

कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले ओलम्पिक २०२१ को २३ जुलाईदेखि ८ अगस्टसम्म हुने भएकाले यसलाई अवसरका रूपमा लिनका लागि आजैबाट परिस्थितिलाई बुझेर काम गर्नुपर्ने बताए।

ओलम्पिकका लागि ५ जुलाईसम्म अन्तिम ‘इन्ट्री’को समय छ। सो छलफलमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले १३औँ दक्षिण एशियाली खेलकुदमा पदक जितेका खेलाडीका लागि घोषणा गरिएको पुरस्कार राशि उपलब्ध गराउन थालिएको जानकारी गराए।

ओलम्पियन दीपक विष्टले खेलाडीले जस्तो परिस्थितिमा पनि अभ्यास गर्न सक्नुपर्ने विचार व्यक्त गर्दै खेलाडीले घरमै बसेर अभ्यास गरिरहेको र सामाजिक दायित्व पूरा गर्ने कामसमेत भइरहेको जानकारी गराए।

छलफलमा कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले प्रशिक्षकसँग अनलाइनमार्फत् छलफल गरेर घरभित्रै अभ्यास गरिरहेको बताइन्। डा. सरोजकृष्ण श्रेष्ठले घरभित्रै बस्ने र केही समस्या भएर डाक्टरसँग परामर्श लिन आग्रह गरे। रासस

प्रतिक्रिया दिनुहोस्