मुलर थप दुई वर्ष बायर्नमा रहने

काठमाडौं। बायर्न म्युनिखका फरवार्ड थोमस मुलरले क्लबसँग दुई वर्षका लागि नयाँ सम्झाैता गरेका छन्। अब उनी २०२३ सम्म बायर्न मै बस्नेछन्।

३० वर्षे जर्मनीका फरवार्ड मुलरले बायर्नबाट ५०० भन्दा धेरै खेल खेलिसकेका छन्। २००९ मा बायर्नबाट डेब्यू गरेका मुलरले क्लबबाट १६ वट उपाधि जितेका छन्।

‘‘यो क्लब मेरो लागि पुरानो रोजगारदाता मात्र होइन। यसमा मेरो छुट्टै लगाव छ’’, बुन्डेसलिगामा ११६ गोल गरिसकेका मुलरले भने, ‘‘यही क्लबमा थप दुई वर्ष बिताउन पाउँदा म खुशी छु। मैदानमा पनि म आफ्नो तर्फबाट सक्दो राम्रो गर्ने प्रयास गर्नेछु।’’

कोरोना भाइरस संक्रमणका कारण जर्मन बुन्डेसलिगा रोकिनुअघि बायर्न स्पष्ट चार अंकको अग्रतासहित शीर्ष स्थानमा छ। महामारीका कारण बुन्डेसलिगा ३० अप्रिलसम्मका लागि स्थगित छ।

‘‘लिग पुनःसञ्चालन भयो भने हामीले फेरि सफलता हासिल गर्नेमा म विश्वस्त छु’’, मुलरले भने। बायर्नका खेलाडी यही सातादेखि पाँच/पाँचजनाको समूहमा ट्रेनिङ गरिरहेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्