स्पेनिस ला लिगा २८ मेबाट पुन:सञ्चालन हुन सक्ने

काठमाडौं। स्पेनिस ला लिगाका अध्यक्ष जाभियर टेबासले सबै कुरा राम्रो भएको अवस्थामा २८ मे बाट लिग पुनः सञ्चालन हुन सक्ने बताएका छन्। उनले त्यस विषयमा क्लबहरूसँग छलफल भइरहेको बताए।

कोभिड–१९ महामारीका कारण स्पेनमा ११ मार्च यता कुनै पनि फुटबल खेल भएको छैन। स्पेनिस क्लबले खेलेको पछिल्लो खेल च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडले साविक विजेता लिभरपुललाई हराएको खेल हो।

ला लिगा अध्यक्ष टेबासले कोभिड-१९ को संकट नसकिँदासम्म क्लबहरूको ट्रेनिङ शुरू नहुने बताएका छन्। स्पेनमा २६ अप्रिलमा लकडाउन सकिँदैछ।

अध्यक्ष टेबासले जारी लिग बीचमै टुंगियो भने क्लबहरूले एक अर्ब युरोपियन डलर नोक्सानी बेहोर्ने बताएका छन्। उनले लिग पुनःसञ्चालन गर्नका लागि तीनवटा मितिमा छलफल भइरहेको बताए।

‘‘हामीले यो फरक परिस्थितिमा पुनः लिग सञ्चालन गर्नका लागि सम्भावित विकल्पहरूमा यूईएफएसँग छलफल गरिरहेका छौँ। सबभन्दा बढी सम्भावना २८ मे देखिएको छ। ६ वा २८ जून पनि हुन सक्छ’’, टेबासले भने, ‘‘ठ्याक्कै यही मितिमा हुन्छ भनेर भन्न सकिने अवस्था छैन। स्पेनी अधिकारीहरूले दिएको मिति हो यो। तर त्यसअघि पनि हामी ट्रेनिङ गर्न सक्छौं।’’

कोरोना भाइरस संक्रमणका कारण लिग रोकिनुअघि ला लिगामा २७ चरणका खेलमात्र सकिएको थियो। लिग सकिन अझै ११ चरणका खेल बाँकी छन्। टेबास लिग नटुंगिनेमा धेरै चिन्तित छैनन्। उनी दर्शकसहितको रंगशालामा खेलाउने की दर्शकरहितको रंगशालामा खेलाउने भन्नेमा केन्द्रित छन्।

‘‘आर्थिक असरहरूको कुरा गर्दा, युरोपियन प्रतियोगितासहित लिग नहुने हो भने क्लबहरूले एक अर्ब युरोपियन डलर गुमाउनेछन्। खेल भयो दर्शक भएनन् भने क्लबहरूले ३० करोड युरोपियन डलर गुमाउँछन्’’, क्लबहरूले बेहोर्ने नोक्सानबारे टेबासले भने, ‘‘दर्शकसहितकै रंगशालामा खेल्यौं भने पनि क्लबहरूले १५ करोड युरोपियन डलर गुमाउनेछन्।’’

प्रतिक्रिया दिनुहोस्