कक्षा ११ र १२ को परीक्षा पनि स्थगित

काठमाडौं । सरकारले कक्षा ११ र १२ को परीक्षा पनि अनिश्‍चितकालका लागि स्थगित गरेको छ । कोभिड-१९ को जोखिमका कारण पूर्वनिर्धारित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

आज बसेको बोर्डको बैठकले ८ वैशाखदेखि हुने तालिका रहेको कक्षा ११ को र २१ वैशाखदेखि तय भएको कक्षा १२ को परीक्षा तत्काल स्थगित गर्ने निर्णय गरेको बोर्डका सदस्य-सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

बोर्डले विद्यार्थीहरूलाई घरमै बसेर स्वअध्ययन गर्न आग्रहसमेत गरेको छ । महामारीको जोखिम कम भएर अवस्था सामान्य बनेपछि अर्को परीक्षा मिति तय हुनेछ ।

परीक्षाका प्रश्नपत्र छापेर तयारी अवस्थामा राखिएको थियो भने देशभर एक हजार एक सय ४७ केन्द्र निर्धारण गरिएको थियो । दुवै कक्षाका गरी नौ लाख ६२ हजार विद्यार्थीले सहभागिता जनाउँदै थिए ।

कोभिड-१९ का कारण सरकारले यसअघि एसईई पनि स्थगित गरेको थियो । ६ चैतदेखि हुने तय भएको एसईई पनि सरकारले एक दिन अगाडि ५ चैतमा रोक्ने निर्णय गरेको थियो । विश्वविद्यालयहरूका परीक्षा पनि रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्