कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले नेपालभरी ‘लकडाउन’ लागू गरेयता सबैजना जस्तै म पनि एकाध पटक मात्रै घरबाहिर निस्किएको छु, दुध र तरकारी किन्न। बाँकी समय पढ्ने, लेख्ने, सामाजिक सञ्जाल र न्युज अनलाईन हेर्ने, खाना पकाउन सघाउने आदि गरेर बितिरहेको छ।
कोरोना भाइरसले युरोपदेखि अमेरिकासम्मलाई चपेटामा पारेपछि र भारतमा पनि यसको संक्रमण फैलिने अनुमान सर्वत्र गरिएपछि मैले नेपालमा पनि ‘लकडाउन’ हुन्छ भन्ने लख काटेको थिएँ। त्यस्तो बेलाको घर बसाइलाई पट्यारलाग्दो बन्न नदिन केही थान किताब किनेको थिएँ। उसो त किनेर अथवा उपहार पाएर घर भित्रिएका, तर पढ्ने मेसो नजुरेका दजैनौँ किताब मसँग होलान्।
‘लकडाउन’ भएयताका दिनमा अमेरिकी लेखक रोबर्ट डि. कप्लानको किताब ‘मनसुन’ पढेर सिध्याएँ। त्यसपछि अर्थशास्त्र विधातर्फ नोबल पुरस्कार जित्न सफल अमेरिकी अर्थशास्त्री जोसेप इ. स्टिग्लिट्जको ‘द ग्रेट डिभाइड’ पढ्न सुरु गरेँ। किताबको भूमिका खण्ड पढ्दा थाहा भयो, स्टिग्लिट्जले पछिल्लो समय ‘द न्युयोर्क टाइम्स’लगायत पत्रपित्रकामा अमेरिकी समाजमा विद्यमान आर्थिक असमानताबारे लेखेका लेखहरूको सँगालो रै’छ, ‘द ग्रेट डिभाइड’। अखबारमा छापिएका लेखमा विषयगत पृष्ठभूमिको लामो परिचर्चासहितको सघन व्याख्या भेट्न सम्भव हुँदैन। किताबमा संग्रहित एकाध लेख पढेपछि मलाई यस्तै महसुस भयो। त्यसैले स्टिग्लिट्जको किताब थन्काएँ र मार्टिन ज्याक्सको बेस्टसेलर किताब ‘ह्वेन चाइना रुल्स द वर्ल्ड’को परिमार्जित संस्करण पढ्न सुरु गरेँ। यसको करिब ३५ प्रतिशत खण्ड छिचोलिसकेको छु। अभिरुची भएको विषयमा लेखिएका स्तरिय किताब पढ्ने सन्दर्भ जुरेकाले कोरोनाको सन्त्रास भुलाउन मलाई सजिलो भइरहेछ।
दुःखका आफ्नै आयाम
भनिन्छ, मान्छेले आँखा अगाडिका सबै कुरा देख्दैन। कानछेउ गुञ्जिएका सबै कुरा सुन्दैन। उसले ती कुरा मात्र देख्छ अथवा सुन्छ, जुन उसले देख्न अथवा सुन्न चाहेको हुन्छ। मानिसको यस्तो चाहना समय र परिस्थितिबाट निर्मित हुन्छ। अहिले संसार महामारी र अभावको लपेटामा छ। यस्तो बेलामा हामीले देख्ने अथवा सुन्ने कुरा योभन्दा पृथक कहाँ हुन सक्छ र ? किताबहरू पढिरहँदा मलाई त्यस्तै महसुस भइरहेको छ।
‘मनसुन’मा बर्मासम्बन्धी एउटा छुट्टै अध्याय छ। यसमा वृहत्त हिन्द महासागरको शक्तिसमिकरणमा बर्माको स्थान कहाँ छ, त्यहाँ चीन र भारतका परस्परविरोधी स्वार्थ कसरी बाझिएका छन्, त्यसमा अमेरिकी सरोकार कसरी जोडिएको छ भन्नेबारे चर्चा छ।
बर्माबाट टुक्राएर बेग्लै करेन राज्य स्थापना गर्न सशस्त्र आन्दोलन चलाएबापत बर्मामा टिक्न नसकेपछि छिमेकी मुलुक थाइल्यान्डमा आश्रय लिएका सबाव पाह नाम गरेका व्यक्तिलाई ‘मनसुन’का लेखक कप्लानले थाइल्याण्ड पुगेर भेटेका रहेछन्। भेट हुँदा ती व्यक्तिले कप्लानलाई अण्डा चाउमिन ख्वाएछन्। यसबारे कप्लानले लेखेका छन्, ‘खानामा फ्राइड नुडल्स र अण्डा लिँदै गर्दा हामीले न्याप्किनको सट्टा ट्वाइलेट पेपरको रोलबाट काम चलाइरहेका थियौं।’ पाहसहित करेन शरणार्थीहरूले दयनिय जीवन बिताइरहेका छन् भनि देखाउन कप्लानले ट्वाइलेट पेपरको प्रसंग उल्लेख गरेका होलान्। यसबारे पढ्दै गर्दा मैले ‘लकडाउन’मा दुध र कागती सहजै नपाएपछि ‘मिल्क टी’ अथवा ‘लेमन टी’को सट्टा ‘ब्ल्याक टी’ खान ‘बाध्य’ हुनुपरेको आफ्नै प्रसंग सम्झिएँ। दुःख र अभावको परिभाषा आखिरमा सापेक्षित न हुँदो रहेछ भन्ने यथार्थलाई मैले फेरि एकपटक महसुस गरेँ। कोरोना भाइरसको सन्त्रास फैलिएपछि अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत देशमा ‘ट्वाइलेट पेपर’को हाहाकार मच्चिएको समाचार पढ्दा पनि मलाई त्यस्तै महसुस भएको थियो।
अहिले मान्छेले कस्तो खालका अभाव बेहोरिरहेका छन् ? यसको सपाट उत्तर खोज्न सजिलो छैन। दुःख, क्लेश र अभावको परिभाषा व्यक्तिको आर्थिक क्षमताबाट निर्धारित हुन्छ। ‘लकडाउन’बाट उत्पन्न अभावलाई व्यापारी, बैंकर, जागिरे, मजदुर र मागेर गुजारा चलाउनेहरूले एकैनास भोगिरहेका छैनन्। वृद्ध र जवानले, अविवाहित र विवाहितले, सपाङ्ग र अपाङ्गले पनि पृथक रूपमा भोगिरहेका छन्।
‘द ग्रेट डिभाइड’को भूमिका खण्डमा स्टिग्लिट्जले लेखेका दुईवटा अनुच्छेद पढेर म एकछिन रोकिएको थिएँ। उनले लेखेका छन्, ‘आम अमेरिकीहरू छोराछोरीलाई कलेज कसरी पढाउने, परिवारको कुनै सदस्यलाई गम्भिर रोग लाग्यो भने के गर्ने, काम गर्ने उमेर कटेपछि जिविका कसरी चलाउने भन्नेमा चिन्तित हुन्छन्। महामन्दीको बेला करोडौं अमेरिकी नागरिक आफ्नो घर लिलाम त हुँदैन भन्नेमा चिन्तित थिए। दशौं लाख मानिस घरविहीन भएका पनि थिए। त्यतिबेला अमेरिकाका एक प्रतिशत, अझ भनौं शुन्य दशमलव एक प्रतिशत मानिस चाहिँ कस्तोखालको जेट विमान किन्नु उपयुक्त हुन्छ, आम्दानीलाई करमुक्त राख्ने उत्तम तरिका के हो भन्नेखालका विषयमा विमर्श गरिरहेका थिए। न्युयोर्क शहरबाट हेलिकप्टर चढेर साउथेम्प्टनको समुद्री किनारस्थित आवास जाँदा उनीहरू छरछिमेकले धेरै होहल्ला गरेको भन्दै गुनासो गर्छन्। वैभवको चरमचुलीबाट खसिने त होइन भन्नेमा उनीहरू चिन्तित हुन्छन्। उनीहरू त्यसरी खस्ने सम्भावना असाध्यै कम छ, तर कहिलेकाहीँ त्यस्तो हुन्छ पनि।’
संसारको जुनसुकै ठाउँमा पनि सुख र दुःख उस्तै हुँदो रहेछ। अमेरिकाका सर्वसाधारणले बेहोरेको समस्या नेपालमा हामीले बेहोरिरहेको समस्याभन्दा फरक रहेनछ। त्यहाँका शुन्य दशमलव एक प्रतिशत मानिसको चिन्ता र उनीहरूका नेपाली समकक्षीको चिन्ता पनि धेरै फरक कहाँ छ र ? स्टिग्लिट्जको किताबमा त्यस्ता मानिसको व्यथा पढ्दै गर्दा मैले केही वर्षअघि पढेको हाम्रा अर्वपति विनोद चौधरीको ‘आत्मकथा’को एउटा सन्दर्भ सम्झिएँ। २०६६ सालतिर उनी श्रीमतीलाई लिएर घुम्न भनि ल्याटिन अमेरिकी राष्ट्र चिलीको राजधानी सेन्टियागो पुगेका रहेछन्। त्यतिबेलै त्यहाँ ठूलो भूइँचालो गएछ। निकैबेरको प्रयासपछि टेलिफोनमार्फत नेपालमा रहेका छोरासँग कुरा गर्न उनी सफल भएछन्। छोराले आँत्तिदै आफूहरूको उद्दार गर्न एउटा विमान चार्टर गरेर चिलीतिर पठाउने प्रस्ताव गरेको चौधरीले ‘आत्मकथा’मा लेखेका छन्।
खानाको घेरो
हिजोआज खानालाई लिएर अनेक कोणबाट चर्चा-परिचर्चा भइरहेका छन्। मासु र मःमः खान नपाएको गुनासो सामाजिक सञ्जालतिर छ्याप्छ्याप्ती छ। महँगा स्मार्टफोनबाट ‘गरिबहरू भोकै मरिरहेका छन्, उनीहरूको कुरा कसैले सुनेन, मिडियामा पनि उनीहरूको आवाज आएन’ भन्दै सामाजिक सञ्जालतिर वर्गचेतना झल्काउने काम पनि भइरहेको छ। केही हिन्दू धर्मावलम्बी चाहिँ कोरोना संक्रमणको महामारीले हिन्दू धर्मग्रन्थमा वर्णित सात्विक भोजनको वैज्ञानिकतालाई सिद्ध गरिदिएको दाबी गरिरहेका छन्। चिनियाँहरू कुकुरदेखि सर्पसम्म भेटेजति सबै जनावर खाने भएकाले कोरोनाजस्ता संक्रामक जीवाणु त्यहीँबाट फैलिन सुरु भएको हो भनि तर्क गर्नेहरूको पनि कमी छैन।
मार्टिन ज्याक्सको किताब ‘ह्वेन चाइना रुल्स द वर्ल्ड’ पढ्दै गर्दा एक ठाउँमा चिनियाँ समाजलाई पश्चिमीकरणले कति प्रभावित गरेको छ भनि विवेचना गरिएको पाएँ। चिनियाँ समाजमा पश्चिमी संस्कृतिले पारेको प्रभावबारे बुझाउन चारवटा विषयमा केन्द्रीत रही लेखकले विवेचना गरेका रै’छन्– भाषा, शरीर (पहिरन), खाना र राजनीति।
चारैतिर खानाको चर्चा चलिरहेको र चिनियाँहरूको खाद्य संस्कारकै कारण कोरोना भाइरसको उत्पत्ति भएको हो भन्ने चर्चा सामाजिक सञ्जालतिर यत्रतत्र देख्दै आएको बेला चिनियाँहरूको खाद्य संस्कारको सन्दर्भ आएपछि स्वाभाविक रूपमा म उत्साहित भएँ।
चिनियाँहरू खानालाई अधिक महत्व दिँदा रहेछन्। मार्टिनका अनुसार खानालाई स्वाद लिएर खाने सवालमा उनीहरू फ्रेन्चभन्दा अगाडि छन्। खानालाई चिनियाँ समाजले कति धेरै महत्व दिन्छ भनि देखाउन मार्टिनले किताबमा लेखेका छन्, ‘अंग्रेजहरू कसैलाई भेट्दा ‘हाउ आर यु’ ‘अर्थात तपाईंलाई कस्तो छ ?’ भनि कुरा सुरु गर्छन्। चिनियाँहरू ‘खाना खानु त भएको छ नि !’ भन्छन्।’
नेपालीले चाहिँ ‘सञ्चै हुनुहुन्छ ?’ भनि भलाकुसारी सुरु गर्छन्। त्यसोभए, के रोगी भइरहने हुनाले हामीले सञ्चोविसञ्चो अर्थात् आरोग्यतालाई जोड दिएको हो त ? रोगलाई लिएर नेपाली समाजले चिन्ता व्यक्त गर्दै आएकोबारे महामारीको बेला विचार्न पाउनु पनि रमाइलै छ।
जनावर र रुखविरुवाका अधिकतम प्रजाति खाने सवालमा चीनले बाँकी संसारलाई उछिन्दै आएको छ भन्ने मैले सुनेको थिएँ। खाद्य संस्कारलाई पर्यावरणले निर्धारण गरिदिएको हुन्छ। मैले सुनेअनुसार चीनमा ह्वाङ हो र याङत्जे नदीबीचका भूभाग उर्वर छन्। बाँकी ठाउँमा उब्जनी कम हुन्छ। उब्जनी कम र जनसंख्या अधिक हुने भएकाले इतिहासमा त्यहाँ खाद्य संकट उत्पन्न भइरहने गथ्र्यो। त्यसमाथि समय–समयमा आइपर्ने खडेरी, अनिकाल र महामारीले खाना अझ अपुग हुन्थ्यो। त्यस्तो अवस्थामा जीवन धान्न चिनियाँहरूले विच्छिदेखि गोहीसम्म, सुँगुरलाई ख्वाउने घासपातदेखि माटोसम्म खाए रे। त्यही चलनले प्रकारान्तरमा संस्कारको रूप लिएको हो रे।
मैले सुनेको कुरा गलत रहेनछ। चिनियाँहरूको खाद्य संस्कारबारे चर्चा गर्ने क्रममा मार्टिनले एकठाउँ लेखेका छन्, ‘उब्जनी घटेको र अनिकाल परेको बेलामा चिनियाँहरूले जिवित रहन खान मिल्नेजति सबै चिज खाए। यसक्रममा उनीहरूले खानामा मिसाउन काठे च्याउ (वुड इयर्स) र लिली फुलको कोपिला (लिली बड्स) अनि स्वादिष्ठ भोजनका रूपमा सार्क माछाको पखेँटा जस्ता अनौठा खाना पनि पत्ता लगाए।’
नेपालमा पनि त मुसहरहरूले मुसा खान्छन्। घुँगी, गँगटा, पाह भ्यागुता खानेहरू पनि नेपालमा थुप्रै छन्। मानिससँग खाना छान्ने विकल्प जति धेरै भयो, उसले त्यति नै थोरै थरी खाना खान्छ। दिनहुँ खाद्य असुरक्षा झेल्न अभ्यस्त विपन्नले बढी थरी खाना खानुको कारण पनि यही हो। हिन्दू वर्णव्यवस्थाले दलितलाई भन्दा ब्राह्मणलाई खाने कुरामा बढी कडाइ गरेको छ। दलितले रक्सीदेखि सिनोसम्म सबै खान मिल्ने, ब्राह्मणले चाहिँ सात्विक भोजनमा सिमित हुनुपर्ने व्यवस्था गरिएको छ।
वर्णव्यवस्थाको टुप्पातिर हामी जति जान्छौं, खाद्य असुरक्षा त्यति नै कम हुँदै जान्छ। बाहुन र क्षेत्री समुदायमा वर्जित खानाको सूची लामो हुनुको कारण खाद्यको सहज उपलब्धता हो भन्ने कुरा मलाई चीनको खाद्य संस्कारबारे पढ्दै गर्दा महसुस भयो।
चिनियाँहरूको खानाबारे चर्चा गर्ने क्रममा मार्टिनले थप लेखेका छन्, ‘चिनियाँ खाद्य संस्कार संरक्षित खानाको सवालमा असाध्यै सम्पन्न छ। अनिकाल परेको बेला र उत्तरी चीनमा जाडो मौसमको बेला जीवन निर्वाह गर्न भनेर संरक्षित खानाको चलन चलेको हो।’
नेपालमा पनि त संरक्षित खानाको सूची लामै छ। गुन्द्रुक, सिन्की, सुकुटी, गालेको अचार, सुकाएको मुलाको चाना, मस्यौरा, आदि।
हुन त यस्ता खानाको उत्पत्तिबारे अनेक कथा प्रचलनमा छन्। काठमाडौं उपत्यकामा प्रचलित एउटा किंवदन्तीअनुसार पाल्पाका राजा मुकुन्द सेनले काठमाडौंमा हमला गरेपछि सिन्की अस्तित्वमा आएको हो रे। मुकुन्द सेनको फौजले काठमाडौंमा धमाधम लुटपाट मच्चाउन लागे रे। सुन र गरगहनाजस्त किम्ती चिज मात्र होइन, बारीका अन्नबाली पनि बाँकी नराख्ने छनक देखाए रे। यसबाट जोगिन यहाँका मानिसले खेतका धान काटेर, बारीका मुला उखेलेर खाल्डो खनी गाडे रे। पाल्पाली सैनिक फर्किएपछि गाडिएका धान र मुला निकाले रे। त्यसरी काठमाडौंमा हकुवा चामलसँगै सिन्कीको प्रचलन सुरु भएको रे।
यस्ता किंवदन्ती सुन्दा रमाइलै लाग्छन्। तर सबै किंवदन्तीले सत्यतिर संकेत गर्छन् भन्ने छैन। काठमाडौंमा सिन्की, सुकुटी, मस्यौरा, सुकाएको मुलाको चानाजस्ता संरक्षित खाद्य परिकारको प्रचलन सुरु हुनुको कारण मुकुन्द सेनको हमला होइन, खाद्य असुरक्षाको जोखिम हो। हरेक वर्ष केही महिना बारीमा सागपात, तरकारी केही हुँदैन। त्यतिबेलाका लागि नकुहिनेगरी खाना सुकाएर राख्ने चलन आझै कायम छ। त्यसमाथि काठमाडौंमा खडेरी, अतिवृष्टि आदिका कारण अनिकाल परेको वर्णन ऐतिहासिक दस्तावेजहरूमा प्रशस्तै पाइन्छन्। उदाहरणका लागि जयस्थिती मल्लको पालामा तयार भएको गोपालराज वंशावलीलाई लिन सकिन्छ। उक्त वंशावलीमा अनिकाल र महामारीले काठमाडौं उपत्यकालाई चपेटामा पारेको विवरण ठाउँठाउँमा उल्लेख गरिएको छ। त्यस्तो समय आउला भनेर पनि खाना सुकाएर राख्ने चलन सुरु भएको हुनुपर्छ।
यही कुरा मैले कोरोनाको महामारी फैलिनुअघि महसुस गर्न सकेको भए आज मेरो भान्छामा गुन्द्रुक, सिन्की, मुलाका चाना र गालेको अचारको अभाव हुने थिएन। त्यस्तो हुँदो हो त संकटको बेला तरकारी महँगोमा बेचेर रातारात पैसा छाप्ने व्यापारीहरूमाथि मैले आज निर्भर हुनुपर्ने थिएन। संकटले व्यक्तिमा विषाद मात्र थोपर्दो रहेनछ, व्यक्तिको बुझाईलाई पनि तिखार्दो रहेछ।
" />

">