काठमाडौं। १२ वर्ष भएछ त्यो दुस्वप्नजस्तो घटना भएको।
काठमाडौंको बालुवाटार। पुसको महीना थियो। रातको आठ बजिसकेको थियो। खाना बनाउन ढिला भइसकेको थियो। चुल्हो सल्काउन खोजेको ग्यास सकिएको रहेछ।
त्यति राति सिलिण्डर साट्न कहाँ गइरहनु ?
‘खाना नि पकाउँछु, चुरोट नि सल्काउँछु’, यही सोच्दै सविना खाना बनाउन उठिन्। स्टोभ बालेपछि चुरोट सल्काउन हात अगाडि लगिन्। विडम्बना, स्टोभको आगो चुरोटमा मात्र नभई उनको ज्याकेटमा पनि सल्कियो।
ज्याकेट न हो, ह्वार्रै बल्यो। उनी आत्तिइन्। ज्याकेट फाल्न खोजिन् तर, आगोले पोल्न थाल्यो। हतारहतार ढोका त खोलिन्। तर, ज्याकेटमा लागेको आगो उनले निभाउन सकिनन्।

एकैछिनमा उनका श्रीमान् आइपुगे। आगो निभाइदिए। लुगा च्यातिदिए। अनि कपडाले बेरेर उनैले सविनालाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्याए।
आगोले उनका दुई हात र घाँटीसम्म नराम्रोगरी जलेको थियो। उनी बोल्न त सक्थिन्। तर, उठ्न र आफैंले खान सक्दिनथिन्। श्रीमानले दुई महीनासम्म अस्पतालमा उनको स्याहारसुसार गरे। दुई महीनापछि उनलाई एक्लो बनाएर भागे।
सविना विलखबन्दमा परिन्। उनलाई अस्पतालमा स्याहार गर्ने कोही भएनन्। छोराछोरी सानै थिए। छोरी ६ वर्षकी, छोरा चार वर्षका। धन्न आमाजुहरूले साथ दिए। उनीहरूले अस्पतालमा स्याहार गरे। माइतीको भने साथ पाइनन् उनले।
डाक्टरले भनेका थिए- “तिम्रो घाउ चाँडै निको हुन्छ। पीर नगर।”
तर, डाक्टरले भनेजस्तो भएन। बरु घाउ राम्रोसँग निको नहुँदै उनलाई अस्पतालबाट घर लगियो।
घरमा भने उनले खासै स्याहार पाइनन्। उनीसँग कोही नजिक पर्न खोज्दैनथे। बोल्न पनि चाहँदैनथे।
६ वर्षे छोरीले जतिसक्दो स्याहार गरिरहिन्। घाउ सफा उनैले गर्दिन्थिन्।

परिवारका सदस्यले उनको श्रीमानको खोजी भने गरे। तीन महीनापछि थाहा भयो, उनी त अर्को बिहे गरेर ठमेलमा बसेका रहेछन्।
तीन महीनापछि घरमा आएर श्रीमानले दुई सन्तान पनि आफैंले लैजान्छु भन्न थालेपछि उनले सहन सकिनन्।
“म चाहिँदैन रे, दुईजना बच्चा लैजाने भन्न थाल्यो”, सविना सम्झिन्छिन्, “उसैको दिदीले गाली गरेपछि लगेन।”
दुःखको समयमा साथ छोडेर हिँडेपछि श्रीमानप्रति उनको मन भाँचियो। परिवारले उपचार त गरेको थियो तर, बाहिरफेर निस्कन पनि दिँदैनथ्यो।
“तिमी बाहिर ननिक्ल, तिम्रो घाउ मानिसले देखे पाक्छ, आँखा लाग्छ भन्थे”, उनी सुनाउँछिन्।
शौचालय पनि बिहान, बेलुकामात्र जान दिने गर्न थालेपछि उनलाई त्यो घरमा बसिरहन गाह्रो भयो। उनलाई त घुमिरहनुपर्थ्यो साथीसँगीसँग भेटघाट गर्नुपर्थ्यो। कोठामा गुम्सिएर बस्न बाध्य पारिएपछि उनले विकल्प खोजिन्।

दुई सन्तान बोकेर उनी काठमाडौंको नैकापमा एउटा कोठा लिएर बस्न थालिन्। तर, कहाँ सजिलो थियो र त्यो जिन्दगी ?
काम थिएन। कमाएर ल्याउने कोही थिएन। श्रीमानको साथ छुटिसकेको थियो। परिवारलाई छोडेर हिँडिसकेकी थिइन्। बच्चाहरू सानै थिए। उपचार गर्ने पैसा थिएन। घाउ पाक्न थालेका थिए। अलिअलि बचत थियो त्यसैले काम चलाइरहेकी थिइन्।
तैपनि हिम्मत हारिनन् सविनाले। जस्तोसुकै कठिनाई पनि झेल्ने हिम्मत त उनले आमाबाटै सिकेकी थिइन्।

२०३७ सालमा जन्मेकी थिइन् सविना। काठमाडौंको कमलपोखरीमा। चञ्चल थिइन् हरेक बच्चाहरुजस्तै। खुब घुम्नुपर्थ्यो। विद्यालय कम पशुपति बढी पुग्थ्यो उनको मण्डली। बाग्मतीमा पौडी खेल्थे। कहाँ अहिलेजस्तो फोहोर थियो र त्यो बेलाको बाग्मती ? कमल माध्यमिक विद्यालयमा यसैगरी सात कक्षासम्म पढिन् उनले।
परिवार सामान्य थियो। बुवा थिएनन्। बा नभए पनि आमा र दाईले हुर्काएका थिए उनलाई। आमाको संघर्ष नजिकबाट नियालेकी थिइन् उनले।

दिदी (फुपुकी छोरी)मार्फत् उनको श्रीमानसँग भेट भएको थियो।
चक्रपथमा बस्थिन् दिदी। दिदीको घरमा आउजाउ गर्दा उनले भावी श्रीमानलाई भेटेकी थिइन्। शुरूमा त साथी बने। अनि प्रेमी–प्रेमिका। उनी पुजारी, श्रीमान् लामा। घरमा जात मिल्दैन भनेर अस्वीकार गरिएपछि भागी बिहे गरे। बिहे हुँदा उनको उमेर १८ थियो।
विवाहपछि यो दम्पती कोठा भाडामा लिएर बस्न थाल्यो। श्रीमान् विद्युत प्राविधिक थिए। उनको कमाईले घर चल्थ्यो। बिहेपछि छोरी र छोरा जन्मिए।
विवाहको चार वर्षपछि भने श्रीमानको घरले स्वीकार गर्यो। अनि श्रीमानको घर बालुवाटारमा नै बस्न थालेका थिए।

यो उतारचढावबाट सविनाले संघर्ष सिकेकी थिइन्। तर, जिन्दगी फगत संघर्षले सधैँ सुखी कहाँ हुन्छ र ? आशाका किरणहरू पनि त भेटिनुपर्छ।
नैकापमै बस्न थालेको वर्ष आशाका किरण बनेर झुल्किए विदेशी डाक्टर लुइज र उनको टोली। त्यो टोलीले नैकापमा आगोले पोलेका मानिसको उपचार गर्न शिविर राखेको थियो। छिमेकीले उनलाई त्यो शिविरसम्म पुर्याए। शुरूमा त डाक्टरहरूले घाउ धेरै बिग्रिइसकेकाले उपचार नहुने बताएका थिए। तर, उनीहरूले उपचार रोकेनन्। उपचार गर्दै जाँदा अवस्थामा सुधार आयो। घाउ निको हुँदै गयो।

डाक्टरहरूले उनको उपचार मात्र गरेनन्। उनको कठोर जीवन संघर्ष देखेर सहयोग पनि जुटाइदिए। उनीहरूले उनको घरभाडा तिरिदिए, छोराछोरी पढाइदिए।
आजसम्म त्यो सहयोग जारी छ। तर, सहयोग कुन संस्थाबाट आएको हो सविनालाई थाहा छैन। हरेक वर्षको फेब्रुअरीमा उनीहरू आउँछन् र सबै खर्च तिरिदिन्छन्।
उपचारपछि उनी हिँडडुल गर्न सक्ने भइन्। स्वस्थ भएपछि उनी आगो र एसिड आक्रमणबाट पीडित महिलाहरूको लागि काम गर्ने बीभीएस (बर्न भ्वाइलेन्स सर्भाइभर) भन्ने संस्थामा पुगिन्। त्यहाँ उनले सीप सिक्ने मौका पाइन्। सोलार ब्रिकेट, मैनबत्ती बनाउन सिकिन्। अहिले उनी सोही संस्थाको माध्यमबाट ‘अस्तित्व नेपाल’ भन्ने संस्थामा जोडिन पुगेकी छन्। उनी र उनकी छोरी सुजिना त्यही काम गर्छन्।

उपचार र सीपपछि उनमा आत्मविश्वास पलाएको छ। पहिले उनी मुख छोपेर हिँड्थिन्। उनलाई देख्दा मानिस डराउँथे। जाडो होस् या गर्मी घाँटी छोपिने गरी हाइनेक लगाउँथिन्। तर, अहिले उनी मुख छोप्दिनन्। यी संस्थाहरूमा हिँड्दा यहाँका कुराले उनलाई प्रेरणा दिएको छ।
“बीभीएसमा आएपछि साथीहरु भेटेँ, सबैजना उस्तै त रैछ नि, म यस्तो छु के भो त भनेर हौसला पाएँ, अनि अहिले मुख छोपेर हिँड्दिनँ,” उनले भनिन्।
आगोले जलेको त्यो घटनाको १२ वर्ष पूरा भइसकेको छ। जीवन संघर्षमा थाहै भएन यी वर्ष कसरी बितेर गए। छोरोछारीको मुहारले नै उनले खुशी समेट्दै गइन्।

हो, जिन्दगी सोंचेजति सरल छैन। शरीर सबल छैन। गह्रौं सामान बोक्न गाह्रो छ। तथापि छोराछोरीको साथमा जिन्दगीको रथ गुडाइरहिछन्।
“बच्चाहरूले साथ दिएकोले म यत्तिको भएँ,” उनी भन्छिन्, “यिनीहरूको लागि बाँचेको छु म। अब एउटै सपना छ, उनीहरूको भविष्य राम्रो बनाउने।”
(नसोचेको मोडबाट गुज्रिनुपर्छ। नचाहेको भोगाइ भोग्नुपर्छ। हिंड्ने रहर सबैको हुन्छ, तर बारम्बार लड्नुपर्छ। हिंड्दा–हिंड्दै लड्नु, ठोक्किनु, भत्किनु र आफैंलाई सम्हाल्दै अघि बढ्नु- यही हो नियम जिन्दगीको। र त मान्छे, मान्छे बन्छ। यो शृङ्खला तिनै मानिसको कथा हो जसले अनाहकमा बज्रपात ब्यहोरे, तर हारेनन्। हिम्मत गरे र अघि बढे । पुष्टि गरे- जीवन सुन्दर छ। देखापढीले शुरू गरेको ‘जीवन सुन्दर छ’ शृंखलाको यो १२ औं भाग नै अन्तिम भाग हो। हामी फेरि अर्को विषयमा यस्तै शृंखला लिएर आउनेछौं। -सम्पादक)
पढ्नुहोस्
खुट्टा काटिएर के भो, उभिने अठोट जबर्जस्त छ (जीवन सुन्दर छ, भाग–११)
प्रेमले पुरिँदैछन् आगोले पोलेका घाउ (जीवन सुन्दर छ, भाग–१०)
हात काटियो, डिप्रेसनले छोप्यो तर, हारेन शान्तिको हिम्मत (जीवन सुन्दर छ, भाग–९)
मृत्युले पनि हार मानेपछि अञ्जुले जितेको जिन्दगी (जीवन सुन्दर छ, भाग–८)
एउटाले सलाई दियो अर्कोले जीवन: रास्ता खड्गी (जीवन सुन्दर छ, भाग–५)
जस्तो हेर्यो त्यस्तै देखिन्छ जिन्दगी: हार्न नजानेकी जब्बर जायत्रीको कथा (जीवन सुन्दर छ, भाग-१)
" /> काठमाडौं। १२ वर्ष भएछ त्यो दुस्वप्नजस्तो घटना भएको।काठमाडौंको बालुवाटार। पुसको महीना थियो। रातको आठ बजिसकेको थियो। खाना बनाउन ढिला भइसकेको थियो। चुल्हो सल्काउन खोजेको ग्यास सकिएको रहेछ।

">