'हामीलाई पूर्ण विश्वास छ, नेपाल छिट्टै समृद्ध बन्नेछ'
(सन् १९६० को अप्रिलमा चीनका तत्कालीन प्रधानमन्त्री चाउ एन लाई दोस्रो पटक नेपाल भ्रमणमा आएका थिए । सोही क्रममा उनले अप्रिल २८ मा तत्कालीन संसद्का दुवै सभा (महासभा र प्रतिनिधी सभा) को संयुक्त बैठकमा सम्बोधन गरे । उनको सम्बोधन मन्तव्य चिनियाँ पत्रिका ‘पेकिङ रिभ्यु’को ३ मे १९६० को अंकमा प्रकाशित भएको थियो । चिनियाँ राष्टपति सी चिनफिङ नेपाल आउँदै गरेको सन्दर्भ पारेर हामीले सात दशकअघिको त्यही मन्तव्यको नेपाली अनुवाद प्रकाशित गरेका छौं । – सम्पादक)
सम्माननीय अध्यक्षज्यू, सम्माननीय सभामुखज्यू र संसद्का माननीय सदस्यहरु,
तीन वर्षपछि हाम्रो नजिकको छिमेकी नेपालको भ्रमणमा आउन पाउँदा र यो संसद्को संयुक्त सभामा माननीय समक्ष आफ्ना विचार राख्न पाउँदा मैले सम्मान र हर्षको अनुभुति गरेको छु । म महामहिम प्रधानमन्त्री (विश्वेश्वरप्रसाद) कोइरालालाई मलाई निमन्त्रणा गर्नुभएकोमा र श्री ५ को सरकारलाई मेरो न्यानो सत्कार गर्नुभएकोमा हृदयदेखि नै धन्यवाद दिन्छु । मलाई यो बुलन्द रोष्ट्रमबाट बोल्ने मौका दिनुभएकोमा सम्माननीय अध्यक्षज्यू र सम्माननीय सभामुखज्यूलाई हार्दिक धन्यवाद दिन्छु । र तपाईंहरु सबैको न्यानो स्वागतका लागि म र मेरा मित्रहरुको तर्फबाट धन्यवाद टक्र्याउँछु ।
चीन र नेपाल दुवै प्राचीन र अहिले पनि युवा देशहरु हुन् । लामो समयदेखि हाम्रा जनताबीच परम्परागत मित्रता स्थापित भएको छ । हामीबीच औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना भएयता हामीले कुनैबेला टुटेको हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई पुनस्र्थापित मात्र गरेका छैनौं बरु शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्धान्तमा आधारित नयाँ छिमेक सम्बन्ध पनि स्थापना गरेका छौं । हालैमात्र गरिएको सीमासम्न्धी चीन–नेपाल सम्झौता र आर्थिक सहयोग सम्बन्धमा चीन–नेपाल सम्झौतासँगै हाम्रो मैत्रीपूर्ण सहकार्यको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको छ । हामीले देशहरुबीच र फरक सामाजिक व्यवस्थाहरुबीच स्थापना हुनसक्ने शान्तिपूर्ण सहअस्तित्वको उदाहरण कायम गरेका छौं भन्दा पक्कै पनि अतिशयोक्ति हुनेछैन । यसका लागि दुवै देशका सरकार र जनता धन्यवादका पात्र बनेका छन् ।
चीन र नेपाल दुवैले आफ्नो देश निर्माण गर्नुपर्ने कठिन जिम्मेवारी सामना गरिरहेका छन् । हामीले निकै गहिराइपूर्वक महसुस गरेका छौं, हामी अफ्रिकी र एसियाली देशहरु आर्थिक रुपमा स्वाधिन हुनसके मात्र राजनीतिक स्वाधिनतालाई समृद्ध बनाउन सक्छौं र हाम्रो स्वाधितनालाई पूर्ण सुनिश्चित बनाउन सक्छौं ।
आजसम्म पनि हामी दुवै देशहरु आर्थिक रुपमा पछि नै छौं र निर्माणको मामिलामा अनुभवहीन छौं । यो वस्तुगत परिस्थितिले हामीले एक अर्कालाई सहयोग गर्नुपर्ने र आर्थिक सुदृढीकरणका लागि हाम्रो सहकार्यलाई अझ बलियो बनाउनुपर्ने बोध गराउँछ । एसियाली र अफ्रिकी देशहरुमध्ये कुनै एकको पनि राष्ट्रिय अर्थतन्त्रको विकास हुनु अरुका लागि उत्साह र साथ हो । यही भावनाका साथ चिनियाँ जनताले अन्य एसियाली र अफ्रिकी देशसँग आर्थिक सहकार्यलाई बलियो बनाइरहेका छन् । हामीलाई पूर्ण विश्वास छ, नेपाल पनि छिट्टै नै समृद्ध र सुदृढ बन्नेछ । अन्य एसियाली र अफ्रिकी मुलुकको जस्तै नेपालको समृद्धि र सुदृढता पनि हाम्रो देश चीनका लागि शक्तिशाली आड बन्नेछ ।
चीन र नेपाल दुवै शान्तिप्रिय देश हुन् जसले स्वाधिनता र स्वतन्त्रताको कदर गर्छन् । आफ्नो संविधानको प्रस्तावनामा चिनियाँ जनताले आफ्ना ईच्छाहरुलाई कानूनी रुपमै उद्घोष गर्दै उल्लेख गरेका छन्, ‘अन्तर्राष्ट्रिय मामिलामा हाम्रो स्थिर र दृढ नीति विश्व शान्ति र मानव जातिको उन्नतिका लागि निरन्तर प्रयत्न गर्ने हुनेछ ।’
एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा साम्राज्यवाद र उपनिवेशवादका विरुद्ध एवं राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर आन्दोलनहरु उठिरहेका छन् । ती आन्दोलनको परिणमस्वरुप एकपछि अर्का नयाँ राज्यहरुको निर्माण भईरहेको छ । यी आन्दोलनहरुलाई हामी प्रसन्नतापूर्वक कदर गर्छौं ।
संसारैभरी उठेका राष्ट्रिय मुक्ति आन्दोलनहरु र संसारैभरीका शान्तिप्रिय देश र जनताको भगीरथ प्रयत्नको परिणामस्वरुप विश्व परिस्थितिमा केही हदसम्म तनाव कम भएको छ । विश्व शान्तिका निम्ति प्रयत्न गरिरहेका शक्तिहरु निकै बलिया छन् जसले गर्दा पश्चिमा देशहरुले पनि शान्तिको वातावरण बनाइरहन परिरहेको छ । विश्व शान्तिको विजयको सम्भावनाका लागि आजको जस्तो अनुकुल वातावरण कहिले पनि तयार भएको थिएन भन्न सकिन्छ । यो परिस्थितिका कारण हामी दुई देशका जनता र संसारैभरका शान्तिकामी जनता धन्य र उत्साहित छौं ।
यो सुखद वातावरण हुँदाहुँदै पनि हामी केमा सजग हुन जरुरी छ भने आक्रामक साम्राज्यवादी वृत्तले एकातिर शान्तिको नारा लगाइरहेछ भने अर्कोतिर सैन्य शक्ति र युद्ध तयारी पनि बढाइरहेको छ । सैन्य गठबन्धन बढाउने, सैन्य आधारहरु खडा गर्ने र सैन्य ब्लकहरु बलियो बनाउने काम उनीहरुले गरिरहेकै छन् । र अन्तर्राष्ट्रिय मामिलाका मुख्य विषयहरुमा पूर्व र पश्चिमको सम्झौता रोक्न पनि उनीहरुले भरपुर प्रयत्न गरिरहेछन् । हामीले विशेष ध्यान दिनैपर्ने तथ्य के हो भने, पछिल्लो विश्व युद्ध हाँकेका सैन्य शक्तिहरु फेरी जागिरहेका छन् । उनीहरुलाई आक्रामक साम्राज्यवादी वृत्तले प्रोत्साहन गरिरहेका छन । यो विश्व शान्ति र सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती हो ।
यी सबै परिस्थितिले विश्व शान्तिलाई जोगाइराख्नु आज पनि कठिनतम काम हो भन्ने जनाउँछन् । त्यसैले संसारैभरीका शान्तिप्रिय देश र जनताले आफ्नो ऐक्यबद्धतालाई अझ बलियो बनाउन, त्यसमा धाँजा पर्न नदिन जोड दिनुपर्ने भएको छ ।
श्री ५ को सरकारको यो नीतिलाई चिनियाँ सरकार र जनताले न्यानो स्वागत र पूर्ण समर्थन गर्छन् । यो नीति केवल नेपालको शान्तिपूर्ण विकास र पञ्चवर्षीय योजनाको सफल कार्यान्वयन अनुकुल मात्र छैन बरु एसियाली देशहरुको ऐक्यबद्धता कायम राख्न र विश्व शान्ति स्थापना गर्न पनि अनुकुल छ । विश्व शान्तिको रक्षा र एशियाली तथा अफ्रिकी देशहरुसँग ऐक्यबद्धता र मैत्रीपूर्ण सहकार्यलाई निरन्तरता दिन चिनियाँ सरकार र जनता श्री ५ को सरकार र नेपाली जनतासँग ऐक्यबद्धता बलियो बनाउन ईच्छुक छन् ।
मेरो मन्तव्य टुंगाउँदै म पुनः एकपटक हृदयदेखि नै आभार व्यक्त गर्दछु । तपाईंहरुको स्वागतका लागि धन्यवाद । हामीलाई गरिएको सत्कारका लागि श्री ५ को सरकारलाई धन्यवाद ।
चीन–नेपाल मित्रता जिन्दावाद !
एशियाली र अफ्रिकी देशहरुको ऐक्यबद्धता र विश्व शान्ति जिन्दावाद !
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्