शक्ति कब्जाको विश्वव्यापी महामारी

संसारको ध्यान कोभिड-१९ मा छ। यो संयोग पनि हुनसक्छ तर चीनले दक्षिण चिनियाँ सागरका विवादित चट्टानहरूमा नियन्त्रण बढाउन, हङकङका प्रजातान्त्रिक नेताहरूलाई पक्राउ गर्न र हङकङको ‘आधारभुत कानून’ (बेसिक ल) कमजोर बनाउन यही समय रोजेको छ। र, यो संयोगमात्रै पनि नहुनसक्छ। जतासुकैका शासकहरूले आफ्नो शासन अझ कडा बनाउने अवसरको रुपमा यो महामारीलाई लिएका छन्।

खासगरी हङकङकमा चीनको भूमिका चिन्ताजनक छ। सन् १९९७ मा बेलायतले चीनलाई हस्तान्तरण गरेयता हङकङमा ‘एक देश, दुई व्यवस्था’ अन्तर्गत शासन हुँदै आएको थियो। यहाँका जनताले अभिव्यक्ति स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र कानूनको शासनको उपभोग गर्दै आएका थिए। त्यसैले नै हङकङ वित्तिय केन्द्र बन्न पुगेको थियो। तर, चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले हङकङको प्रदर्शन गर्ने संस्कृति बिथोल्न लामो समयदेखि प्रयास गरिरहेछ।

हङकङको ‘आधारभूत कानून’ (एक प्रकारले सानो संविधान)को धारा २२ ले चिनियाँ अधिकारीहरूलाई हङकङको आन्तरिक मामिलामा हस्तक्षेप गर्न रोक लगाउँछ। त्यो बन्देजमा हङकङस्थित लियाजन अफिस पनि पर्छ। तर, हङकङमा चीनको प्रतिनिधित्व गर्दै आएको यो अफिसले १७ अप्रिलमा आफू त्यो बन्देजभित्र नपर्ने जनायो। लियाजन अफिसको यो भनाईले ऊ हङकङको स्वतन्त्रतामा छेकबार लगाउने योजना बुनिरहेछ भन्ने बताउँछ।

हङकङमा सी चिनफिङको बढ्दो शक्ति कब्जा अरू थुप्रै ठाउँमा भइरहेका त्यस्तै अभ्यासमध्ये एक हो। विश्वभरी नै तानाशाह र तानाशाह हुन रहर गर्नेहरूले यो समयलाई अभुतपूर्व अवसरको रुपमा लिएका छन्। कोभिड-१९ अरू सबै संकटभन्दा फरक र पेचिलो छ। यससँग जुध्न सरकारलाई थप साधनहरू चाहिन्छ। ८४ भन्दा बढी देशमा कार्यकारीलाई थप शक्ति दिनेगरी संकटकालीन कानूनहरू लागू गरिएका छन्। कतिपय देशमा यो विश्वव्यापी महामारीसँग जुध्न यस्तो शक्ति आवश्यक छ र सामान्य अवस्थामा फर्किएपछि ती कानून फिर्ता हुनेछन्। तर, धेरै देशमा त्यस्तो आवश्यकता पनि छैन र ती कानून फिर्ता हुने पनि छैनन्। लोकतन्त्रका जराहरू खुकुला भएका र संस्थागत नियमनहरू कमजोर भएका देशहरू तानाशाहीको बढी जोखिममा छन्।

यसको एक उदाहरण हंगेरी हो। त्यहाँका प्रधानमन्त्री भिक्टोर ओर्बानले एक दशकदेखि परीक्षण र सन्तुलन (चेक एन्ड ब्यालेन्स) हटाइदिएका छन्। नयाँ कोरोना भाइरस कानून अन्तर्गत उनी हुकुमी शासन गर्न सक्छन्। उनी तानाशाह भइसकेका छन् र संसद्ले उनका नयाँ शक्तिहरू फिर्ता नगर्दासम्म तानाशाह नै रहिरहनेछन्। संसद्मा पनि उनकै पार्टीको वर्चस्व रहेकाले उनको हुकुमी शासन अन्त्य हुने सम्भावना तत्काल देखिँदैन। हंगेरी धनी लोकतान्त्रिक देशहरूको क्लब, युरोपियन युनियनको सदस्य राष्ट्र हो तर यसले टोगो वा सर्वियाकै जस्तो चरित्र देखाइरहेको छ। ती देशहरू जहाँका शासकहरूले ओर्बानले जस्तै गरी शक्ति अभ्यास गर्छन्।

अहिले संसारका हरेक देशका जनता त्रसित छन्। सबैजना सुरक्षित रहन चाहन्छन्। यही मौकामा जनस्वास्थ्य रक्षा गर्ने नाममा शक्तिमा रहिरहन खोज्नेहरूले पहिलेदेखि प्रयोग गर्न खोजिरहेको बल प्रयोग गरिरहेछन्। हो, ठूला जमघटहरू संक्रमण फैलिने मुहान बन्नसक्छन्। त्यसैले उदार सरकारहरूले पनि भेला हुन रोक लगाइरहेका छन्। तानाशाहहरूले यसैलाई भेला हुने र प्रदर्शन गर्ने स्वतन्त्रता मिच्ने अवसरको रुपमा उपयोग गरिरहेका छन्। पछिल्लो वर्ष त्यस्ता भेला र प्रदर्शनहरू भारत, रुस, अफ्रिकाका सबैजसो देश र ल्याटिन अमेरिकामा ठूलो मात्रामा भइरहेथे।

विश्वव्यापी महामारीले बोलिभियामा चुनाव सार्ने उपयुक्त अवसर दिएको छ अथवा गिनीमाजस्तो विपक्षीलाई प्रचार गर्ने अवसर नदिइकनै चुनाव गर्ने बहाना दिएको छ। लकडाउनका कानूनहरू आफू अनुकुल लागू गर्ने अवसर पाइरहेछन् शासकहरूले। अजरबैजानका राष्ट्रपतिले विपक्षीहरूलाई ‘आइसोलेट’ गर्न लकडाउनको उपयोग गर्ने खुला धम्की नै दिएका छन्।

राहत वितरण पनि आफू समर्थकलाई मात्र भइरहेछ। टोगोमा राहत पाउन मतदाता परिचयपत्र चाहिन्छ जहाँ पछिल्लो निर्वाचन बहिस्कार गरेको प्रतिपक्षका समर्थकसँग परिचयपत्र हुने सम्भावना कम छ। त्यस्तै यही बेलामा अल्पसंख्यकहरूलाई बलिको बोको बनाइएको छ। हिन्दुत्वको राजनीति गरिरहेको भारतको सत्ताधारी दल भारतीय जनता पार्टीले मुसलमानहरूलाई कोभिड-१९ सार्ने भनेर चित्रित गरिरहेको छ।

भाइरससँग जुध्नु भनेको संक्रमितको पहिचान गर्नु हो। उनीहरूसँग सम्पर्कमा आएकालाई चिनेर क्वारेन्टाइनमा राख्नु हो। यसको अर्थ सामान्य अवस्थामा भन्दा धेरै मात्रामा मानिसको गोपनीयतामाथि अतिक्रमण हुनु हो। दक्षिण कोरिया, नर्वेजस्ता मानव अधिकारको सम्मान गर्ने लोकतान्त्रिक देशमा सम्भवतः शक्तिको दुरुपयोग ठूलो मात्रामा हुनेछैन। तर चीन र रुसजस्ता देशहरूले भने हरेक व्यक्तिको जासुसी गर्न उच्च प्रविधि प्रयोग गरिरहेछन्। र, यस्तो अभ्यासमा उनीहरू एक्ला छैनन्। कम्बोडियाले हालै लागू गरेको नयाँ कानूनले यस्तो सुपरिवेक्षणलाई सीमाविहिन बनाइदिएको छ।

महामारीबारेको गलत सूचना पनि खतरनाक छ। यो स्वंयसिद्ध तथ्यलाई धेरै शासकहरूले कथित ‘फेक न्यूज’ प्रतिबन्ध गर्ने बहानाको रुपमा लिएका छन्। उनीहरूका निम्ति आफ्नो आलोचना नै ‘फेक न्यूज’ हो। जिम्बावेमा ‘गलत सूचना’ प्रवाह गर्नेलाई २० वर्षसम्मको कैद हुने व्यवस्था गरिएको छ। लिवियाका युद्ध सरदार खलिफा हफ्तर अन्तर्गत रहेको कोभिड-१९ समितिका प्रमुख भन्छन्ः “हामीले हरेक आलोचकलाई गद्धारको रुपमा लिन्छौं।” जोर्डन, ओमान, यमन र युनाइटेड अरब इमिरेट्सले भाइरस संक्रमण हुने बहानामा पत्रपत्रिकालाई प्रतिबन्ध लगाएका छन्।

यी घटनाहरूले पुष्टि गर्छन्, शक्तिका प्यासीहरूले कोभिड-१९ लाई आफ्नो शक्तिअभ्यासको मोर्चा बनाएका छन्। तर, पत्रकार र मानव अधिकारकर्मीहरूले खोतलेर ननिकाल्दासम्म कसैले पनि यी शक्ति अभ्यास कतिसम्म क्रुर छन् भन्ने थाहा पाउँदैनन्। अहिलेसम्म कति आलोचकहरू ‘क्वारेन्टाइन उल्लंघन गरिएको’मा बन्दी बनाइएका छन् ? महामारीसँग जुध्न ठूलो मात्रामा मानिसहरू परिचालन गरिएको छ। अहिलेसम्म कतिजना यस्ता उद्धारकहरूबाट लुटिएका वा ठगिएका छन् ? हालै विश्व बैंकले गरेको एक अध्ययन अनुसार गरिब देशमा पठाइएको सहयोगको ठूलो धनराशी विभिन्न ट्याक्स हेभन देशहरूको कम्पनी र बैंकमा निर्यात भएको छ। त्यो अध्ययन कोभिड सम्बन्धित संकटकालीन कानूनहरू लागू हुनु पहिलेको हो। त्यसैले अहिले झनै धेरै ‘चेक एन्ड ब्यालेन्स’ चाहिन्छ।

‘अहिले हामीलाई स्वतन्त्रताको साटो स्वास्थ्य चाहिएको छ’, थाइल्याण्डका स्वेच्छाचारी प्रधानमन्त्री प्रायुथ चान-ओच्चाले भनेका छन्। तर उनीजस्ता शासकहरूले गरेको स्वतन्त्रता हरण गर्ने अभ्यासहरू जनस्वास्थ्यका लागि झनै हानिकारक छन्। सेन्सरशीपले सूचना प्रवाहमा रोक लगाउँछ जसले भाइरसप्रति प्रमाण सहितको प्रतिकार गर्न कमजोर बनाउँछ। यस्तो सेन्सरशीपले भ्रष्टाचार पनि बढाउँछ।

क्रुर तर अयोग्य

शासकहरूको यस्तो स्वेच्छाचारी अभ्यासले कहाँ पुर्‍याउँछ ? कोभिड-१९ ले मानिसहरूलाई झनै गरीब, रोगी र क्रोधित बनाउनेछ। कोरोना भाइरस प्रचारबाजी र गुप्त प्रहरीसामु पनि अभेद्य छ। शासकहरूले शक्ति कब्जा गर्न महामारीको उपयोग गरे पनि यो प्रकोपसँग उनीहरू जुध्न सक्नेछैनन्। आफ्नै अक्षमताले उनीहरूको शासन अकाट्य छ भन्ने मिथक पनि भत्काइदिनेछ। ती देशहरू जहाँ परिवारहरू भोका छन्, जहाँ डण्डावाल प्रहरीले लकडाउन मान्न बाध्य पार्छ र जहाँ सत्ताका आसेपासेहरूले शक्तिको दुरुपयोग गरिरहेछन् र अर्थतन्त्रको दोहोन गरिरहेछन्, त्यहाँ शासकहरूले सत्ता गुमाउनेछन्। समय लागे पनि यात्रा यतैतिर छ। निर्लज्ज तानाशाहहरूले महामारीको समयमा पनि त्यही गरिरहेछन् जे सधैँ गर्थे - शासित जनताको शोषण गरेर शक्ति हत्याउने कर्म।

(२५ अप्रिल-१ मेको ‘द इकोनोमिस्ट’मा प्रकाशित लेखको लक्ष्मण श्रेष्ठले गरेको अनुवाद।)

प्रतिक्रिया दिनुहोस्