चिकित्सक नहुँदा सल्यान अस्पतालकाे सेवा प्रभावित
अस्पतालमा चारजना चिकित्सकको दरबन्दी भए पनि एकजना मात्रै चिकित्सक कार्यरत हुँदा बिरामीको उपचारमा समस्या हुन थालेको छ।

कार्यालय सहयोगीसहित ३२ जनाको दरबन्दी भए पनि अहिले एकजना डाक्टरसहित १४ जना कर्मचारी मात्रै भएपछि अस्पतालमा कर्मचारी व्यवस्थापन गर्नसमेत कठिनाइ भएको अस्पतालले जनाएको छ। १५ शैयाको अस्पताल अहिले ३७ शैयामा सेवा विस्तार गरेको भए पनि दरबन्दीअनुसारका चिकित्सक नभएपछि सेवा नै प्रभावित भएको अस्पतालका प्रमुख डा. अर्जुन बुढाले बताए।

सल्यान जिल्ला अस्पतालमा सेवा विस्तार गरिएको भए पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा एउटै चिकित्सकले रातिसम्म ओपीडीमा काम गर्नुपर्ने बाध्यता रहेको उनकाे भनाइ छ। “एउटै चिकित्सकले बहिरङ, आपतकालीन सेवा दिनुपर्ने अवस्था छ, यसले गर्दा बिरामी धेरैबेर कुर्नुपर्ने अवस्था छ,” डा बुढाले भने, “अपस्तालमा उपचारका लागि दैनिक २०० देखि ३०० सम्म बिरामी आउँछन्, एउटा चिकित्सकले ओपीडीमा काम गर्ने कि, भिडियो एक्सरे गर्ने कि भर्ना भएका बिरामी हेर्ने ?,”

अस्पतालमा सहजरूपमा सेवा प्रवाहका लागि कम्तीमा पनि चारजना विशेषज्ञ चिकित्सक हुनुपर्ने उनकाे भनाइ छ।

अस्पतालमा कार्यरत कर्मचारीको समायोजनसमेत अन्यत्र भएकाले अस्पतालमा अझै सेवा प्रभावित हुने सल्यान जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दामोदर शर्माले जानकारी दिए। अस्पतालको समस्या धेरैपटक प्रदेश सरकारसँग राखेको भए पनि कुनै सुनुवाइ नभएको शर्माको भनाइ छ।

सल्यान जिल्ला अस्पतालको समस्यालाई आफूहरूले गम्भीररूपमा लिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर विश्वकर्माले बताए। “कर्णाली प्रदेशभरि नै सबै क्षेत्रका कर्माचारीको अभाव छ, यसमा पनि स्वास्थ्य क्षेत्रमा अझै बढी समस्या छ,” उनले भने।

सल्यानमा रहेका दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रमा समेत स्वास्थ्यकर्मीको अभाव भएकाले त्यहाँ पनि स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि पहल गर्ने सचिव विश्वकर्माको भनाइ छ। अस्पतालमा उपचारका लागि छिमेकी जिल्ला रोल्पा र पश्चिम रुकुमबाट पनि बिरामी आउने गरेका छन्। अहिले मौसम परिवर्तन हुने समय भएकाले पनि बिरामीको चाप बढेको अस्पतालले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्