स्वास्थ्य एकाइले दुर्गममा स्वास्थ्य सेवामा पहुँच बढ्यो

बेनी। म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका नरप्रसाद पुन बिरामी हुँदा पूरै दिन हिँडेर मुदीस्थित स्वास्थ्यचौकीमा पुग्नुपर्ने समस्या हटेकामा खुशी छन्।

गाउँपालिकाले भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगरमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि ६० घरधुरीका बासिन्दा लाभान्वित भएका छन्।

“वडास्तरको स्वास्थ्यचौकी भएको मुदी पुग्न बगरबाट पूरै दिन भिर र जङ्गलको बाटो हिँड्नुपर्ने भएकाले पीडा सहेर, रोग पालेर बस्नुपरेको थियो”, पुनले भने, “स्वास्थ्य एकाइ खुलेपछि समयमै सहजरूपमा स्वास्थ्य सेवा पाएका छौँ।” बगरलगायत म्याग्दीका दुर्गम र विकट बस्तीमा स्थानीय तहहरुले स्थापना र सञ्चालन गरेका सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी भएका छन्।

वडास्तरमा रहेको स्वास्थ्य संस्थामा पुगेर आधारभूत सेवा सुविधा लिन नसकेका दुर्गमका नागरिकसमक्ष स्वास्थ्य सेवाको पहुँच बढाउन सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी बनेका हुन्।

पायक पर्ने ठाउँमा स्वास्थ्य एकाइ स्थापना भएपछि सामान्य बिरामी पर्दासमेत तीन÷चार घण्टादेखि पूरै दिन हिँडेर स्वास्थ्यचौकीमा पुग्नुपर्ने बाध्यता हटेको छ।

गाउँमै नियमित स्वास्थ्य परीक्षण र औषधि पाएपछि दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढेको धवलागिरि–४ खिवाङकी चनमाया घर्तीले बताइन्।

सातवटा वडा रहेको धवलागिरिले खिवाङ, आरबाङ र बगरमा तीनवटा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको छ। मालिका गाउँपालिकाले रुमको पात्लेखर्क र डाँडागाउँ, मङ्गला गाउँपालिकाले हिदी र बुकेनीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेका छन्।

सिङ्गा, थाकनपोखरी र फुर्केसल्लामा शहरी स्वास्थ्य केन्द्र सञ्चालन गरेको बेनी नगरपालिकाले वडा नं ७ मा अर्को केन्द्र स्थापनाको तयारी गरेको छ।

रघुगङ्गा गाउँपालिकाले सातवटा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको अध्यक्ष भवबहादुर भण्डारीले बताए।

“बादुक, राममन्दिर, मौवाफाँट, दर्मीजा, रायखोर, पात्लेखर्क र कुइनेखानीमा स्वास्थ्य एकाइ स्थापना भएको छ”, उनले भने, “सबै स्वास्थ्य एकाइ स्थापनाका लागि रु पाँच/पाँच लाखमा भवन बनाएका छौं।” औजार, उपकरण र औषधिका साथै स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ।

एकाइमा एक अहेव र एक कार्यालय सहयोगी खटाइएको छ। एकाइबाट स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण, परामर्श, गर्भ परीक्षण, खोपलगायतका सेवा दिने गरेको दर्मिजा सामुदायिक स्वास्थ्य एकाइका अहेब बिना पाइजाले बताइन्।

“हामीले नसक्ने बिरामीलाई स्वास्थ्यचौकी र जिल्ला अस्पताल सिफारिस गर्छौैँ”, उनले भनिन्, “आधारभूत तहको सेवा र परामर्श हामीबाटै हुन्छ।”

मलगाउँवासीको गाडी चढ्ने रहर अधुरै

जलजला गाउँपालिका–१ मलगाउँका समबहादुर तिलिजाको आँगन सडकमै जोडिए पनि काम विशेषले कतै जानुपर्दा ३० मिनेट पैदल हिँडेर बाँसखर्क पुगेपछि मात्रै गाडी चढ्न पाउछन्।

“सवारी साधन आवश्यक पर्दा महङ्गो भाडा तिरेर रिजर्भ गर्नुपर्ने अथवा हिँडेर बाँसखर्क पुग्नुपर्ने बाध्यता छ”, सडक निर्माण समितिका अध्यक्षसमेत रहेका तिलिजाले भने, “ऋणमा खनेको बाटोमा गाडी पनि चलेको छैन । ऋण तिर्न पनि सकिएन । दोहोरो मर्कामा परेका छौ।”

मलगाउँका बासिन्दाले १० वर्षअघि ट्र्याक खोलेको बाँसखर्क–लोप्रे हँुदै नागी जोड्ने सडकमा यातायातका साधन सञ्चालन नहुँदा यातायात सुविधाबाट वञ्चित भएका हुन्।

बेनीबाट मल्लाज, बाँसखर्क, मलगाउँ, लोप्रे हुँदै नागी जोड्ने छोटो दूरीको यो सडक स्तरोन्नति र मर्मतसम्भारको अभावमा स्थानीयवासी यातायात सुविधाबाट वञ्चित भएका हुन्।

बाँसखर्कबाट मलगाउँ पुग्न रु एक हजार ८०० देखि रु दुई हजार तिरेर जिप रिजर्भ गर्नुपर्ने समस्या छ। बाँसखर्कसम्म भने नियमित जिप चल्छन्। मलगाउँमा ३२ र छिमेकी चिनाखेतगाउँमा १३ घरधुरीको बसोबास छ। लोप्रे हँुदै नागी आवतजावत गर्ने गाडीले मलगाउँको सडक प्रयोग गरेमा स्थानीयवासीलाई सहज हुने थियो।

मलगाउँ र लोप्रेको बीचको जङ्गलका केही ठाउँमा सुधार र मर्मत गरेमा सडकमा गाडी चलाउन सकिने तिलिजाले बताए। विसं २०६६ मा बाँसखर्कको देउरालीबाट शुरु भएको छ किलोमिटर दूरीको लोप्रे जोड्ने सडकको ट्र्याक खोल्ने काम २०६८ मा सकिएको थियो।

तत्कालीन बाँसखर्क गाविसको रु चार लाख, संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीको सांसद विकास कोषको रु १६ लाख र जिविसबाट रु सात लाख सहयोग आएको थियो। सडक बनाउन लागेको ऋण तिर्न उपभोक्ताले प्रतिघर रु २५ हजारका दरले नगद सङ्कलन गरेका थिए।

सामुदायिक संस्था र व्यक्तिबाट ऋण लिएर सडक खनेका थिए। बेनीबाट मल्लाज र शालिजा हँुदै लेकफाँटको फलामेडाँडा जोड्ने सडक करिब ३५ किलोमिटर दूरीको छ।

मल्लाज–बाँसखर्क–मलगाउँ–लोप्रे हँुदै फलामेडाँडा जोड्ने सडक करिब १४ किलोमिटर छोटो भएको उपभोक्ता समितिका पदाधिकारी बताउँछन्।

कच्ची अवस्थामा रहेको सडक साँघुरो, ग्रेड र घुम्ती तथा मोड सुधार गर्न आवश्यक छ। स्तरोन्नन्ति गरेर गाडी चल्ने बनाउनका लागि चालु आर्थिक वर्षमा जलजला गाउँपालिकाले रु आठ लाख बजेट विनियोजन गरेको बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले बताए।

रासस

प्रतिक्रिया दिनुहोस्