त्रिपुरासुन्दरीकाे दहीजात्रा नहुने

चौतारा। सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिका, तौथलीमा अवस्थित त्रिपुरासुन्दरी माईको मन्दिरमा बडादसैंको एकादशीमा लाग्दै आएको दहीजात्रा यस पटक नहुने भएको छ।

एकआपसमा दही छ्यापाछ्याप गरी परम्परागत रुपमा मनाइँदै आएको दहीजात्रा कोभिड-१९ महामारीका कारण बन्द गर्नुपरेको जनाइएको छ।

गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठका अनुसार नेपालको त्यहाँ मात्र लाग्ने दहीजात्रामा पालिकाले गत वर्ष चार लाख रुपैयाँको दही खरिद गरेको थियो। दैनिक नित्य पूजाबाहेक सर्वसाधारणका लागि मन्दिर पनि बन्द गरिएको छ।

त्यसैगरी हेलम्बु गाउँपालिका, पाल्चोकस्थित पाल्चोकी भगवती अर्थात् जयवागेश्वरी मन्दिर पनि दैनिक नित्य पूजाबाहेक सर्वसाधारणका लागि बन्द गरिएको पालिकाले जनाएको छ।

नेपाल-चीन सिमानामा पर्ने भोटेकोशी गाउँपालिका-१ लिस्तीस्थित उग्रचण्डी भगवतीको मन्दिर नित्यपूजा र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सोही वडाबासीका लागि मात्र खुला गर्ने निर्णय भए पनि टाढाटाढादेखि बस रिजर्भ गरी भक्तजनको घुइँचो लाग्न थालेपछि सुरक्षा तथा भीड नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बाह्रबीसेलाई आग्रह गरिएको वडाध्यक्ष मुके शेर्पाले बताए। रासस

प्रतिक्रिया दिनुहोस्