रुसी भ्याक्सिन नेपाल ल्याउने विषयमा स्वास्थ्य मन्त्रालय अनभिज्ञ, आयातकर्ता भन्छ- सरकारको स्वीकृति कुरिरहेका छौं

काठमाडौं। नेपाल सरकारबाट स्वीकृति प्राप्त हुनेबित्तिकै रुसले नेपाललाई प्रदान गर्ने भनेको कोभिड-१९ भ्याक्सीन उपलब्ध गराइने रुसी प्रशासनले जनाएको छ।

विश्वभर महामारीको रूपमा फैलिइरहेको कोभिड-१९ को प्रकोपबाट बाच्नका लागि भ्याक्सिनको उपलब्धता एकमात्र साध्यका रूपमा लिइएको छ। रुसले अगस्टमा स्वीकृति प्रदान गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन स्पुतनिक भीको २ करोड ५० लाख डोज नेपाललाई उपलब्ध गराउने बताएको छ।

विभिन्न अन्तर्राष्ट्रिय मिडियाका अनुसार रुसको सरकारी स्वास्थ कोषले नेपाली जनसंख्याको झण्डै झण्डै ८५ प्रतिसतलाई पुग्ने भ्याक्सीन ट्रिनिटी फर्मास्युटिकल्स मार्फत उपलब्ध गराउने जनाएको थियो।

एक्सप्रेस फर्माको वेभसाइटमा उपलब्ध जानकारीका अनुसार कोषले आज यस्तो घोषणा गरेको थियो। ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीलाई उद्यृत गर्दै उक्त वेभसाइटमा भनिएको छ, “रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्डसँग सहकार्यको घोषणा गर्न पाउँदा हामी उत्साही छौं। हामी स्पुतनिक भी भ्याक्सिनको अन्तिम परिक्षण सफल होस भन्ने कामनाका साथ हामी त्यसको प्रतिक्षा गरिरहेका छौं। नेपाल सरकारले भ्याक्सिनलाई स्विकृति प्रदान गरेपछि हामी छिटो भन्दा छिटो नेपाली जनतालाई उपलब्ध गराउनेछौं।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले रुसी भ्याक्सिन नेपाल ल्याउने बारे आफूलाई कुनै आधिकारिक जानकारी नभएको बताए।

“अहिलेसम्म मन्त्रालयमा यस विषयमा कुनै औपचारिक जानकारी छैन। राज्यको उच्च तहमा कुराकानी भइरहेको हुन सक्छ,” डा. गौतमले देखापढीसँग भने, “विश्व स्वास्थ्य संगठनको निर्देशिकामा उल्लेख मापदण्डअनुसार प्रक्रिया हुनुपर्छ। कुनै व्यक्ति वा संस्थाले आफूखुसी भ्याक्सिन ल्याउन वा प्रयोग गर्न मिल्दैन।”

ट्रिनिटी फर्मास्युटिकल्स नेपालमा स्वास्थ्य सामाग्री खरिद बिक्री गर्ने नीजि संस्था हो।

एसिया र दक्षिण अमेरिकाका ५० भन्दा बढि देशले स्पुतनिक भीको उपलब्धताका लागि लागि अनुरोध गरिरहेको रुसी स्वास्थ्य प्रशासनले दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्