विमानस्थलबाट प्रहरीले जबरजस्ती ट्रमा सेन्टर पुर्याएपछि सत्याग्रही डा.केसीले भने- यो अपहरण हो

काठमाडौं। सत्याग्रही डा.गोविन्द केसीले आफलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट अपहरण गरी ट्रमा सेन्टरमा लगेर राखेको बताएका छन्।

आज नेपालगन्बाट विमानमा काठमाडौं आईपुगेका उनलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

“मेरो नागरिक अधिकारको हनन् हो,” ट्रमा सेन्टरको बेडबाट डा. केसीले भने, “यो अपहरण हो।”

उनी नेपालगन्जबाट बुद्ध एयरमा दिउसो एक बजेतिर त्रिभुवन विमानस्थल आइपुगेका थिए। उनलाई लिन विमानस्थलमा टिचिङ (शिक्षण) अस्पतालको एम्बुलेन्स आउँछ भनिएको थियो। तर उक्त एम्बुलेन्सलाई विमानस्थल गटेबाट प्रवेश गर्न नदिइएको उनले जनाए।

“मैले टिचिङको पूर्व डाक्टर हुँ भनेर एम्बलेन्समा चढें। एयरपोर्ट गेट बाहिर निस्केपछि त एम्बुलेन्स चाबाहिल तिर नगएर सिनामंगल तिर गयो। हामी त टिचिङ जाने हो भने। एम्बुलेन्समा रहेकाले ट्रमा जाने हो भने। म ट्रमा जान्न भने त्यसपछि प्रहरीको गाडीले जबरजस्ती यहाँ लेरायो,” डा. केसीले भने।

डा.केसी एम्बुलेन्सबाट निस्कन नमानेपछि प्रहरीले उनको पाखुरामा समाती जबरजस्ती तानेर निकालेको थियो। “टिचिङमा कोभिडका कारण नलगेको बताए। तर यहाँ (ट्रमा सेन्टर) पनि दुई वटा केश कोभिड पोजेटिभ राखेका छन्,” उनले बताए।

सरकार, टिचिङ अस्पतालका निर्देशक र डीनको निर्देशनमा आफ्नो अपहरण भएको उनले बताए। उनले यस्तो तानाशाही शैली अब नचल्ने समेत जनाए।

“जबसम्म मलाई टिचिङ अस्पताल लगिन्न तबसम्म ब्लड प्रेसर, रगत, तापक्रम नाप्न दिन्न र स्लाइन पनि म लिनेवाला छैन,” डा. केसीले भने।

स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारको माग राख्दै डा. केसी जुम्लामा अनसन बसेका थिए। त्यहाँ पनि प्रहरीले उनलाई जबरजस्ती अस्पताल लगेको थियो। उनी हिजो मात्र नेपालगन्ज आएका थिए भने आज नेपालगन्जबाट काठमाडौं।

अहिले ट्रमा सेन्टर बाहिर डा.केसीका समर्थकहरुको भिड लागेको छ। उनीहरुलाई डा.केसीलाई भेट्न दिइएको छैन। ट्रमा सेन्टरमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्