विदेशमा भएका डाक्टरहरू भन्छन्- जहाँ भए पनि नेपाल र नेपालीको सेवामा खटिएका छौं

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए)को आयोजनमा गरेको दोस्रो विश्व स्वास्थ्य सम्मेलनमा विश्वका विभिन्न मुलुकमा कार्यरत डाक्टरहरूले आफूहरू 'जुनसुकै मुलुकमा रहे पनि नेपाल र नेपालीको सेवामा खटिएको' बताएका छन्।

‘क्षेत्रीय स्वास्थ्य टिम तथा उनीहरूको भूमिका’ विषयक भर्चुअल अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनीहरूले कोरोना महामारीका बेला नेपालीहरूलाई सहयोग गरिरहेको जनाए।

कार्यक्रममा बोल्दै डा. बोधा सुवेदीले युरोपमा सिकेको सीप तथा ज्ञानको प्रयोग नेपालमा कसरी गर्ने भनेर युरोपमा हेल्थ टिम गठन गरिएको बताए।

"हामीले युरोपमा भएका विभिन्न स्वास्थ्यकर्मीहरूलाई समेटेर अगाडी बढेका छौँ। यहाँ सिकेका ज्ञानलाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भनेर हामीले स्वास्थ्य टिम गठन गरेका थियौँ,"उनले भने।

फेसबुक, जुम लगायत माध्यमबाट पनि संसारभरका नेपालीहरूलाई आफूहरूले सक्दो सहयोग पुर्‍याएको तथा सचेतनाका कार्यक्रमहरू गरेको उनको भनाई थियो।

कार्यक्रममा डा. नितेश अर्यालले मध्यपूर्वका साउदी, कतार, युएई, कुवेत लगायत मुलुकमा नेपाली स्वास्थ्यकर्मीहरूको संख्या एकदमै कम रहेको जनाए।

यी मुलुकहरूमा नेपालीको संख्या बढी भएको तर स्वास्थ्यकर्मीहरूको संख्या कम हुनु दु:खद् भएको उनले बताए। खाडीमा रहेका अधिकांश नेपाली श्रमिकहरूमा चेतनाको अभावले गर्दा कोरोना महामारीसँग डराउने, आत्तिने समस्या भएको उनले जानकारी दिए।

त्यसैगरी डा. एलिनी पोख्रेलले युरोपमा रहेका स्वास्थ्यकर्मीहरूले कोरोना भाइरससँग लड्न र नेपालीहरूलाई सहयोग गर्न उल्लेख्य भूमिका खेलेको बताइन्।

उक्त भर्चुअल कार्यक्रममा डा. सरिता भट्टराई, डा. बोधा सुवेदी, डा. नितेश अर्याल, डा. भुपेश खड्का, डा. रमेश खोजु, डा. भुपेन्द्र बस्नेत, डा. पुनम पन्त, डा. एलिनी पोख्रेल, डा सुनिल शाह लगायतले आफ्नो धारणा राखेका थिए।

अधिकांशले आफू विश्वका जुनसुकै मुलुकमा भए पनि नेपाल र नेपालीहरूलाई साथ र सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्