सिरहा कारागारमा कोरोना संक्रमण भयावह, ५९९ कैदीबन्दीमध्ये ५०७ जना संक्रमित
काठमाडौं। जिल्ला कारागार सिरहामा ५०७ जना कैदीबन्दीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। संक्रमण देखिएकामध्ये ५०० जनाको उपचार भइरहेको छ। सात जना कोरोना संक्रमणमुक्त भएका छन्।

कारागारमा कूल ५९९ जना कैदीबन्दी छन्। कारागारमा यति ठूलो सङ्ख्यामा संक्रमित देखिएको यो पहिलो पटक हो।
निमित्त कारागार प्रमुख बबिता महतोले निको भएका ७ जनासहित ७५ जनाको भने स्वाब परीक्षण गराउँदा कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको बताइन्। उनका अनुसार बाँकी २२ जनाको आउन बाँकी छ।

संक्रमतिको सङ्ख्या अधिक भएपछि आइसोलेट गरेर राख्न कारागारलाई समस्या भएको छ। हाल संक्रमितहरूलाई एकातिर र संक्रमण नदेखिएकाहरूलाई अर्कातिर राखिएको निमित्त कारागार प्रमुख महतोले बताइन्।

“कारागार साँघुरो छ, आइसोलेट गरेर राख्न समस्या भएको छ र अहिले हामीले संक्रमण पोजेटिभ देखिएका कैदीबन्दीहरूलाई एकातिर र अर्कोतिर नेगेटिभ देखिएकाहरूलाई राखेका छौं”, महतोले देखापढीसँग भनिन्, “स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार राख्न सकिने अवस्था छैन।”

कारागारमै सिरहा नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरी चार जना अहेब, दुई जना अनमीसहितको स्वास्थ्यकर्मीको टोली खटाइएको छ।

जिल्ला अदालत सिरहाले विभिन्न मुद्दाका चार जनालाई अभियुक्तलाई पुर्पक्षाका लागि थुनामा राख्न आदेश दिएको र उनीहरूबाटै कोरोना संक्रमण फैलिएको कारागार प्रशासनले जनाएको छ।

“हामीले बाहिरदेखि आएकाको स्वाव परीक्षण गरेर कारागारभित्रकै क्वारेन्टिनमा राख्ने गथ्र्यौं, तर, अदालतले थुनामा राख्न आदेश दिएपछि आएका ती चार जनाको स्वाब परीक्षणको रिपोर्ट आएको थिएन र पछि उनीहरूको रिपोर्ट पोजेटिभ आयो”, निमित्त कारागार प्रमुख महतोले थपिन्, “कारागारमा उनीहरूबाटै संक्रमण फैलियो।”

थुनामा राख्न अदालतले पठाएका चार जनाको रिपोर्ट गएको साउन २६ गते आएको हो। त्यसपछि कारागार प्रशासनले ३० जनाको स्वाब संकलन गरेर परीक्षणको लागि प्रादेशीक प्रयोगशाला जनकपुर पठायो।

फेरि, थप तीन जनामा कोरोना संक्रमण पोजेटिभ भएको रिपोर्ट आयो। त्यसपछि बाँकी ८० जनाको स्वाब संकलन गरेर पठाउँदा ५९ जनाको संक्रमण भएको रिपोर्ट आएको महतोले बताइन्।

यसरी संक्रमण भुसमा आगो सल्किए जसरी सल्किएको थाहा पाएपछि बाँकी सबैको स्वाब संकलन गरेर परीक्षण गराउँदा ५९९ जनामध्ये ५०७ जनामा संक्रमण देखिएको महतोको भनाइ छ।

संक्रमितहरूलाई यस्तो बेला पौष्टिक आहारा प्रशस्त खुवाउनु पर्ने भएपनि पर्याप्तता नभएको महतोले बताइन्। तैपनि, खानाको अतिरिक्त झोलिलो खानेकुरा दाल, गेडागुडी, तानोपानी, आयुर्वेदीक औषधिहरू खुवाउँदै आएको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्