ट्राफिक प्रहरीको अभियान: तपाइँको मास्क खोई ?

काठमाडौं। लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाइँको मास्क खोई?’ अभियान सुरु गरेको छ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा चेकिङ पोष्टहरुमा यात्रुले मास्क लगाए/नलगाएको निगरानी गर्न यस्तो अभियान सञ्चालन गरेको हो।

जिल्ला ट्राफिक प्रहरी प्रमुख उदयसिं सिँजापतिले कोरोना भाइरसको महामारीबाट जोगिन तथा यात्रामा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान सुरु गरिएको बताए।

“मास्क, पञ्जा र सेनिटाइजरको प्रयोगले कोरोनाबाट बच्न मद्दत पुर्याउँछ, मास्क नहुने यात्रुलाई मास्क पनि दिएका छौँ,” उनले भने, “बुझेर पनि लापरबाही गर्ने बानी भएकाले स्वास्थ्य सुरक्षाप्रति सर्तक रहन अभियान चलाएका हौँ।”

सुर्खेत बसपार्कमा ट्राफिक प्रहरी ‘तपाइँको मास्क खोई?’ लेखेको प्लेकार्ड लिएर बसिरहेका हुन्छन्। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा प्रदेशका सबै जिल्लामा यो अभियान लागू गरिएको बताइएको छ।

अभियानको पहिलो दिन आज सुर्खेतमा ट्राफिक प्रहरीले २०० थान मास्क, १०० थान पञ्जा वितरण गरेको छ। यो अभियान वीरेन्द्रनगर प्रवेश गर्ने सुब्बाकुना, बाङ्गेसिमल, कपासे तथा मुख्य चोकहरुमा लागू छ।

रासस

प्रतिक्रिया दिनुहोस्