मास्क नलगाइ हिँडेकाबाट काठमाडौं उपत्यकामा तीन लाख २८ हजार जरिवाना असुल

काठमाडौं । काठमाडौं उपत्यकामा मास्क नलगाई हिँडेका तीन हजार २८५ जना मानिस संक्रामक रोग ऐन २०२० अनुसार कारबाहीमा परेका छन्।

कारबाहीमा परेकाहरूबाट काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले जनही १०० रूपैयाँ जरिवाना असुलेका छन्। उनीहरूबाट तीन लाख २८ हजार रूपैयाँ जरिवाना संकलन भएको छ।

संक्रामक रोग ऐन २०२० विरुद्धको कसूरमा उनीहरू दोषि ठहरिएका हुन्। उक्त ऐन अनुसार कारबाही गर्ने अख्तियार प्रमुख जिल्ला अधिकारीलाई छ। कोरोना संक्रमण महामारीको बेला सरकारले गरेको बन्दाबन्दीको वेवास्ता गर्दैै स्वास्थ्य सुरक्षाका लागि मास्कसमेत नलगाई हिँड्डुल गरेकाहरू कारबाही परेका हुन्।

तर, उनीहरूमध्ये कोही पनि कारागार पुगेनन्। ऐन उल्लङ्घन गर्नेलाई ऐनमै १०० रूपैयाँ वा एक महीनासम्म कैदसम्मको सजायको प्रावधान छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले चैत ११ देखि सरकारले गरेको बन्दाबन्दी र कफ्र्यू अवधिमा माक्स नलगाई हिँडेका उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयहरूलाई कारबाहीका लागि बुझाएको थियो।

कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले मास्क नलगाई हिँडेका २७ हजार ३९७ जनालाई भने सम्झाई बुझाई पठाइएको बताए।

“कोरोना संक्रमणको महामारी छ, यस्तो बेलामा स्वास्थ्य सुरक्षाप्रति त गम्भीर हुनुपर्‍यो नि”, उनले देखापढीसँग भने, “यस्तो सम्वेदनशील अवस्थामा मास्क नलगाइ हिँडेका उनीहरूलाई हामीले सम्झाएर पठाएका हौं।”

प्रवक्ता यादवका अनुसार सोही अवधिमा ८२ हजार ९३४ जनालाई भने ‘होल्ड’ गराएर गन्तव्यतर्फ पठाइएको थियो। र, दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी १ लाख ७७ हजार ९३४ वटा सवारीलाई पनि होल्डमा राखेर पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस्