अब पीसीआर परीक्षण शुल्क दुई हजार मात्र
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९)को पीसीआर परीक्षण शुल्क दुई हजार तोकेको छ।

मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकिएको जानकारी दिए।

सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला सबैले घटेको शुल्कमा पीसीआर परीक्षण गराउनुपर्ने हुन्छ। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पीसीआर परीक्षणको शुल्क पुनरावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटेको बताए।

बजारमा रिएजेन्ट र पीसीआरका अन्य सामानको मूल्य घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको उनले जानकारी दिए।

यसअघि मन्त्रालयले पीसीआर परीक्षणका लागि चार हजार ४०० तोकेको थियो। त्यस भन्दाअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले पाँच हजार ५०० रूपैयाँ शुल्क तोकेको थियो।

नेपालमा अहिलेसम्म आठ लाख ४० हजार ५२७ जनाको पीसीआर परीक्षण गरिएको छ। त्यसमध्ये ५४ हजार १५९ जना सङ्क्रमित भएका छन्। दैनिक करिब १० हजारको सङ्ख्यामा पीसीआर परीक्षण भइरहेको छ।

सरकारले सर्वसाधारण सबैलाई नि:शुल्क परीक्षण गर्दै आइरहेको छ भने सशुल्क परीक्षण गराउन इच्छुक व्यक्तिले मन्त्रालयले तोकेको अस्पताल वा प्रयोगशालामा गई परीक्षण गराउन सक्ने व्यवस्था गरेको छ। अहिले ४७ सरकारी प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आइरहेको छ।

यसैगरी मन्त्रालयले बंगलादेशबाट आएको रेम्डेसिभिर खोप नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिकाअनुसार प्रयोग गर्न सूचिकृत भएका अस्पतालमा बिरामीको चाप हेरेर वितरण गर्न निर्देशन दिएको उनले जानकारी दिए।

उक्त खोपको सम्पूर्ण वितरण परिषद्ले प्राप्त गरी मन्त्रालयमा पेश गर्नसमेत भनिएको छ। सरकारले बंगलादेशबाट पाँच हजार सो खोप प्राप्त गरेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्