जब ‘वी मेट इन काठमान्डू’

काठमाडौं। पत्रिकाको संवाददाताका रूपमा काम गर्ने क्रममा भारत आइपुग्दा यी दुईको सन् १९७१ मा भेट भयो। न्यान्सी गुरी डंकन ७५ र फ्राँस्वा ला डिस्कोर्न ७३ वर्षका भए, अहिले यी दुई दक्षिणी फ्रान्समा बस्छन्।

१९७१ मा न्यान्सी दक्षिण-पूर्वी एसियामा स्वतन्त्र पत्रकारका रूपमा काम गरिरहेकी थिइन्। अमेरिकामा जन्मिएकी उनी त्यो बेला भियतनाम युद्धको रिपोर्टिङ गरिरहेकी थिइन्। ‘‘गर्मी याम थियो, म चेन्नई (त्यसबखत मद्रास भनिन्थ्यो) गएँ। त्यहाँ मैले एकजना अमेरिकी मित्र भेट्नु थियो। हामीले कलकत्तासम्म यात्रा गर्‍यौं र सेनाको साल्भेसन गेस्टहाउसमा बस्यौं,’’ न्यान्सीले भनिन्। हामीलाई उनीहरूले बिहानको नास्ता खुवाए र कोठा तयार नहुन्जेल कुर्न भने।

केहीबेरमा फ्राँस्वा त्यहाँ आइपुगे, अर्को फ्रेन्च युवा लिएर। ‘‘त्यसबखत हामी हाम्रो करिअर एउटा फोटो पत्रकारका रूपमा सुरू गरिरहेका थियौं,’’ फ्राँस्वा भन्छन्, ‘‘हामी भारत जानुको कारण थियो, किनकि हामी भारत-पाकिस्तानबीच चलिरहेको सीमाद्वन्द्वबारे खोजमूलक सामग्री तयार पार्न चाहन्थ्यौं।’’

ऊ अर्को दिन त्यहाँबाट हिँड्यो। तर धेरै टाढा गएन। जब ती दुई मित्रलाई आफ्नो मिसन निकै खतरनाक छ भन्ने बोध भयो, तिनले पुनः कलकत्ताको गेस्टहाउस फर्कने निधो गरे।

त्यो साँझ न्यान्सी र फ्राँस्वाले आफ्नो करिअर र भविष्यको योजनाबारे खुब कुरा गरे। ‘‘त्यो रात म प्रेममा पागल भएको थिएँ,’’ न्यान्सी खुल्छिन्, ‘‘मलाई फ्राँस्वाजस्तो व्यक्तिसँग हुन पाउँदा खुसी अनुभूति भएको थियो।’’

अर्को दिन फ्राँस्वा र उसको साथी सीमा यात्रामा जाँदै थिए। ‘‘म केही निराश थिएँ, तर मेरो साथीले उसको नाम र ठेगाना माग्न भन्यो। त्यो भन्दा अर्थोक केही हुन सकेन,’’ न्यान्सी भन्छिन्। फ्राँस्वाले पनि न्यान्सीलाई मन पराएका थिए। तर सोच्दै थियो, अवस्था ‘असम्भव’ छ। ‘‘उनी अमेरिकी, म फ्रेन्च। र, हामी दुई भिन्नभिन्न स्थानमा जाँदै थियौं। म भन्न सकिरहेको थिइनँ, कसरी सम्बन्ध अघि बढ्छ भनेर,’’ फ्राँस्वा भन्छन्।

ऊ अर्को दिन त्यहाँबाट हिँड्यो। तर धेरै टाढा गएन। जब ती दुई मित्रलाई आफ्नो मिसन निकै खतरनाक छ भन्ने बोध भयो, तिनले पुनः कलकत्ताको गेस्टहाउस फर्कने निधो गरे। ‘‘मेरो साथीले फ्रेन्चलाई देखेको बताइन्, हामी दुवै दौडँदै डाइनिङहलमा पुग्यौं,’’ न्यान्सी भन्छिन्, ‘‘हामी दुवै त्यहाँ केही दिन साथै बिताउन सक्ने भयौं।’’

न्यान्सीले आफ्ना साथीलाई काठमाडौं लिएर जाने वचन दिएकी थिइन्। तर उनी फ्राँस्वालाई भेट्न केही सातामै काठमाडौंबाट पुनः कलकत्ता फर्कन चाहन्थिन्।

घटना यस्तो भइदियो कि, फ्राँस्वाले लामो समय प्रतीक्षा गर्नै परेन। ‘‘कसरी त्यस्तो भयो, मलाई सम्झना छैन। मेरो साथी कलकत्तामा बस्नका लागि पैसा खोज्न बाहिर निस्क्यो,’’ फ्राँस्वा भन्छन्, ‘‘म जसरी पनि न्यान्सीलाई भेट्न चाहन्थेँ। त्यसैले हामी काठमाडौं गयौं। र, म काठमाडौंमा न्यान्सीलाई खोज्न थालेँ। सहर, मन्दिर र अन्य ठाउँमा मैले उनलाई खोजेँ।’’

यो जोडीले भेटपछिको केही महिना एसियाको यात्रामा बितायो। त्यसपछि उनी सिंगापुर गइन्, जहाँ बसेर उनले पत्रकारिता गर्नुपर्ने जिम्मेवारी थियो। फ्राँस्वा फ्रान्सतिर लागे। छुट्टिनुअघि उनीहरूले अतुलनीय अनुभव बटुले- उनीहरूले दलाई लामासँग अन्तर्वार्ता लिए, उनको फोटो खिचे।

फ्राँस्वा मोटरबाइक लिएर न्यान्सीको खोज गर्न थाले। न्यान्सी भन्छिन्, ‘‘जुन समय ऊ मलाई खोज्न आयो, हामी दुवैलाई थाहा थियो, जिन्दगीको महत्त्वपूर्ण समय त्यही थियो।’’

यो जोडीले भेटपछिको केही महिना एसियाको यात्रामा बितायो। त्यसपछि उनी सिंगापुर गइन्, जहाँ बसेर उनले पत्रकारिता गर्नुपर्ने जिम्मेवारी थियो। फ्राँस्वा फ्रान्सतिर लागे। छुट्टिनुअघि उनीहरूले अतुलनीय अनुभव बटुले- उनीहरूले दलाई लामासँग अन्तर्वार्ता लिए, उनको फोटो खिचे।

१९७२ को वसन्तमा न्यान्सी पेरिस गइन्, फ्राँस्वालाई भेट्न। अमेरिकामा छोटो समय काम गरेपछि उनीहरू दुवैले फ्रान्समै स्थायीरूपमा बस्ने निधो गरे। उनीहरूले सात वर्षपछि विवाह गरे। ‘‘हामी पेरिसमा ४० वर्षभन्दा बढी समय बस्यौं। दक्षिणी फ्रान्सको आफ्नो कटेजमा चार वर्षअघि आए।

यी जोडीले आफ्नो अधिकांश समय विश्व भ्रमणमा बिताए। न्यान्सीले पत्रकारका रूपमा काम गरिरहिन् भने फ्राँस्वाले फोटोपत्रकारको भूमिका निर्वाह गरिरहे। ‘‘एकअर्कोप्रति सद्भाव र प्रेम छ कि छैन भनी परीक्षा दिन पनि सहयात्रा आवश्यक पर्छ,’’ फ्राँस्वा भन्छन्, ‘‘सौभाग्य, यो परीक्षामा हामी दुवै उत्तीर्ण भयौं।’’

‘‘दलाई लामासँग हामी १९८१ मा दोस्रो पटक अन्तर्वार्ता गर्न सफल भयौं,’’ न्यान्सी भन्छिन्, ‘‘हामी दुवैले बडो रोमाञ्चक ढंगमा जीवन बिताउन पायौं।’’ उनलाई आफ्नो पतिको हास्यचेत खुबै मन पर्छ। ‘‘म जब पहिलो पटक कलकत्ता छाडेर काठमाडौंतर्फ जाँदै थिएँ, तब मेरो मनले उसलाई आफ्नो जीवनका लागि उपयुक्त पात्र सोचिसकेको थियो। ऊ एउटा असल साथी हो,’’ न्यान्सी भन्छिन्।

उनले आफूले सकेको समयमा सदा फ्राँस्वाको काममा मद्दत गरिन्। ‘‘जब हामी सहयात्रामा हुन्छौं, न्यान्सी सधैं नै रचनात्मक र रुचिपूर्ण कुरामा ध्यान दिन्छिन्,’’ फ्राँस्वा भन्छन्, ‘‘उनी सकारात्मक सोच राख्छिन्। उत्साही र दृढ छिन्। उनको अहिले पनि सुन्दर र सेतो कपाल छ, जस्तो मैले पहिलो पटक भेट्दा थियो।’’

‘‘हामीले पैसालाई कहिल्यै महत्त्व दिएनौं, केवल साहसिक काम गरिरह्यौं,’’ न्यान्सी भन्छिन्, ‘‘म आफूलाई असाध्यै भाग्यमानी मान्छु, ऊ मलाई खोज्दै नेपालको राजधानी काठमाडौंसम्म पुग्यो।’’

(दि गार्जियनबाट अनुदित तथा सम्पादित।)

प्रतिक्रिया दिनुहोस्