'कोभिड-१९ को रोकथाम हाम्रै व्यवहारमा निर्भर छ'
काठमाडाैं। नेपालमा केही दिन अगाडिसम्म लगातार उक्कालो लागिरहेको कोरोना भाइरसका नयाँ संक्रमितको ग्राफ पछिल्लो समय ओरालो लाग्न थालेको छ।

हिजो मात्र देशभर ९७९ जना संक्रमित थपिएका थिए। एक हजार ७३६ जना संक्रमण मुक्त भएर घर फर्किँदा ११ जनाको मृत्यु भएको थियो।

तर, आजको तथ्याङ्क हेर्दा गत २४ घण्टामा देशभर कोरोना भाइरसका ९०२ जना संक्रमित थपिएका छन्। त्यस्तै, दुई हजार २८७ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ।

यसलाई कोरोना भाइरसविरुद्धको लडाईंमा हामी सुधारोन्मुख मार्गमा रहेको संकेतको रूपमा लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतम बताउँछन्।

स्वास्थ्य मन्त्रालयको आजको प्रेस व्रिफिङमा प्राडा गाैतमले गरेको आग्रह उनकै शब्दमा:

मलाई केही हुँदैन कोरोना भनेको बाहिरबाट आउनेलाई हुन्छ वा स्वास्थ्य समस्या भएका अथवा दिर्घ तथा अन्य रोग भएका बिरामीलाई हुन्छ। म बलियो छु। मलाई कुनै रोग छैन। र, भइहाले पनि मलाई केही खतरा छैन भन्ने खालका सोचहरु त्यागौं।

कोरोना भाइरसले धनी गरिब बुढो, तन्नेरी र केटाकेटी छुट्याउँदैन। बाहिरबाट सोचेजस्तो हाम्रो शरिर कोभिड-१९ को संक्रमणसँग जुध्न सक्ने नहुनसक्छ।

त्यसकारण हामी सबै कोरोना संक्रमणको जोखिममा छौं। त्यही भएर म बाहेक जसलाई पनि कोरोना भाइरस संक्रमण हुनसक्छ भन्ने शंका गरेर सचेत हुनुपर्दछ।

आफ्नो आफन्त, साथीभाई र चिनजानका मानिसमा कोरोना भाइरस छैन, उनीहरूसँग भेट्दा मास्क लगाउनु पर्दैन, दुई मिटर दूरी कायम गर्नु पर्दैन भन्ने सोचाइले ठूलो खतरा निम्त्याइरहेको हुन्छ।

त्यसैले सचेत रहौं, व्यवहार सुधारौं।

कोभिडको रोकथाम हाम्रो व्यवहारमा छ। यसको उपचार र खोप संसार मै अहिलेसम्म पत्ता लागेको छैन। कोरोनाविरुद्धको लडाईंमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्यमंसेवकहरूले आफ्नो परिवारलाई घरमा छाडेर हाम्रो सेवामा अहोरात्र खटिनुभएको छ। यस क्रममा धेरै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सेवा दिने क्रममा नै संक्रमित हुनुपरेको छ।

यसरी हाम्रो सेवामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नै संक्रमित हुँदै जानेहो भने भोलिका दिनमा हामीलाई सेवा दिनेको नै संकट वा कमी हुँदै जान्छ।

त्यसकारण कोरोना भाइरसविरुद्धको यस लडाईंमा हामी सबै आ-आफ्नो क्षेत्रबाट सक्रिय रूपमा जुटौं। त्यसकारण कोरोनाबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्ड मेरोलागि हो भन्ने बुझेर ब्यवहार गरौं।

एक अर्काबीच कम्तिमा दुई मिटरको दूरी कायम गरौं। अनिवार्य रूपमा नाक-मुख छोपिने गरी मास्कको प्रयोग गरौं।

बेला-बेलामा साबुनपानीले मिचिमिचि २० सकेन्डसम्म हातधुने गरौं। सकेसम्म आवश्यक नभई घरबाहिर नजाऔं। कोरोनाबाट आफू बाँचौं र अरूलाई पनि बचाऔं।

प्रतिक्रिया दिनुहोस्