क्यान्सर अस्पतालले सञ्चालनमा ल्यायो पीसीआर प्रयोगशाला

काठमाडाैं। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी आजबाट कोरोना परीक्षण थालिएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा देवकुमार गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सञ्चालनको अनुमति दिएसँगै आजबाट प्रयोगशाला सञ्चालनमा ल्याइएको हो।

आइतबार स्वाब सङ्कलन गरिएका ११७ वटा नमूना परीक्षणका लागि राखिएको छ। ती नमूनाको नतिजा आजै आउने उनले जानकारी दिए।

अस्पतालले पीसीआर परीक्षण शुल्क तीन हजार ५०० रूपैयाँ तय गरेको छ। एक दिनमा चार सयसम्म नमूनाको परीक्षण गर्न सकिने उनको भनाइ छ।

सो अस्पतालमा देशभर र भारतबाटसमेत बिरामी उपचारका लागि आउने गर्दछन्। पीसीआर परीक्षण गरेर मात्र अस्पतालले उपचार थाल्ने गरेको छ।

प्रयोगशाला सञ्चालनमा आएसँगै उपचारमा सहज हुने गौतमको भनाइ छ । सङ्क्रमणका कारण आइतबारसम्म अस्पतालका ४६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन्।

समयमा पीसीआर परीक्षणको नतिजा नआउँदा सङ्क्रमित हुने चिकित्सक, स्वास्थ्यकर्मी र बिरामी बढ्दै गएपछि अस्पतालले आफ्नै प्रयोगशालालाई व्यवस्थित गरेर सञ्चालनमा ल्याएको हो। सो बाहेक जिल्लामा सरकारीतर्फ भरतपुर अस्पताल र निजीतर्फ चितवन मेडिकल कलेजले प्रयोगशाला सञ्चालन गर्दै आएका छन्।

सरकारी प्रयोगशालामा नमूनाको चाप उच्च भएकाले नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ। क्यान्सर अस्पतालले बिपी जयन्तीको अवसरमा भदौ २४ गते प्रयोगशालाको विधिवत उद्घाटन गर्ने जनाएको छ।

जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या एक हजार ३८ पुगेको छ। सङ्क्रमणकै कारण यहाँका अस्पतालमा २२ जनाको मृत्यु भइसकेको छ । जसमध्ये १२ जना चितवनका हुन्।

रासस

प्रतिक्रिया दिनुहोस्