कोरोनाबाट एक महिलाको मृत्यु

दमक। कोरोना भाइरसको सङ्क्रमणबाट झापा कन्काई नगरपालिकाकी ४५ वर्षीया महिलाको मृत्यु भएको छ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा उपचाररत कन्काई–३ का ती महिलाको आज मृत्यु भएको हो।

मेची अस्पताल भद्रपुरबाट उपचार हुन नसकेपछि थप उपचारका लागि यही भदौ १८ गते ती महिलालाई प्रतिष्ठानमा रिफर गरिएको थियो।

प्रतिष्ठानमा भर्ना हुनासाथ स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट देखिएको बताइएको छ। तीन–चार दिनदेखि ज्वरो, श्वासप्रश्वासमा समेत समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

मृतक मधुमेहको रोगीसमेत भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।

यससँगै जिल्लामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। यसअघि दमक–१ का ५८ वर्षीय पुरुषको काठमाडौँमा र कमल गाउँपालिका–३ का ८३ वर्षीय वृद्धको सोही प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो।

रासस

प्रतिक्रिया दिनुहोस्