अर्को वर्षको मध्यसम्म पनि कोरोनाको खोप सर्वसुलभ हुँदैन: डब्लुएचओ

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अर्को वर्ष सन २०२१ को मध्यसम्म पनि कोरोना भाइरसविरुद्धको खोप सर्वसुलभ रुपमा उपलब्ध नहुने बताएको छ।

कोरोना भाइरसको विश्वव्यापी महामारीलाई नियन्त्रणमा लिने उद्देश्यका साथ १ सय ५० भन्दा बढि देशहरु अहिले दिनरात यसविरुद्धको खोप विकासका लागि जुटेका छन्। तर डब्लुएचओका प्रवक्ता मार्गरेट ह्यारिसले सुरक्षित खोपका लागि बढि भन्दा बढि परिक्षण गराउनुपर्नेमा जोड दिए।

ह्यारिसका अनुसार बन्दै गरेका खोपमध्ये कुनै पनि अहिलेसम्म क्लिनिकल परिक्षणमा असाधारण र प्रभावकारी देखिएका छैनन्। अहिलेसम्मका परिक्षणमा कुनै पनि खोप ५० प्रतिसत पनि प्रभावकारी साबित नभएको ह्यारिसले दाबी गरे।

रुसले मानव परिक्षणको दुई महिनाभन्दा पनि कम समयको नतिजाको भरमा अगस्टमा कोरोना भाइरसविरुद्धको खोपलाई स्विकृति प्रदान गरेको थियो।

रुसी सरकारले कोरोना भाइरसविरुद्ध विश्वको पहिलो खोपका रुपमा स्पुतनिक भीलाई मान्यता दिएपनि पश्चिमी देशका विज्ञहरुले भने यसको सुरक्षा र प्रभावकारितामाथि प्रश्न उठाइरहेका छन्।

यसैबीच अमेरिकाका सार्वजनिक स्वास्थ्य अधिकारीहरुले अक्टोबरको अन्त्यसम्ममा वितरणका लागि खोप तयार भइसक्ने बताएका छन्। नोभेम्बर ३ मा हुने अमेरिकी निर्वाचनअघि नै खोप सार्वजनिक गरिसक्ने अमेरिकी प्रशासनको तयारी छ।

प्रतिक्रिया दिनुहोस्