कोरोना परीक्षणको रिपोर्ट अब मोबाइलमै
भरतपुर। चितवनको भरतपुर कोभिड-१९ प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन सुरु गरेको छ।

भरतपुर अस्पताल मातहत रहेको प्रयोगशालाले आजदेखि मोबाइलमै रिपोर्ट पठाउन सुरु गरेको हो। अस्पतालका इन्जिनीयर विभाग प्रमुख चन्द्रमणि बस्यालले प्राविधिकरुपमा तयारी सकेर डेमोका रुपमा म्यासेज पठाइएको बताए।

“कोरोना परीक्षणको नमूना दिएर रिपोर्ट पर्खिरहेकालाई आजदेखि औपचारिक रुपमा मोबाइलमै रिपोर्ट पठाउन थालेका छौँ”, उनले भने, “पोजेटिभ र नेगेटिभ दुवै रिपोर्ट सम्बन्धित व्यक्तिको मोबाइलमा पठाउँछौँ।”

उनले फेसबुकमार्फत पनि रिपोर्ट थाहा पाउन सकिने बताए। फेसबुकभन्दा पहिले नै मोबाइलमा रिपोर्ट उपलब्ध गराइने उनले जानकारी दिए।

अहिलेसम्म रिपोर्ट पोजिटिभ आएका सङ्क्रमितलाई प्रत्यक्ष फोन गरेर र नेगेटिभ आएकालाई अस्पतालको फेसबुक पेजमार्फत जानकारी दिने गरिएको थियो। कतिपय व्यक्ति रिपोर्टबारे जानकारी लिन प्रयोगशालामा नै पुग्ने गरेका थिए।

नेगेटिभ वा पोजिटिभ रिपोर्ट आएकाको मोबाइलमा एसएमएस जाने आइडी र पासपोर्ट, अस्पतालको वेबसाइटमा रहेको कोभिड रिपोर्टसम्बन्धी लिङ्कमा हालेर रिपोर्ट प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ।

“स्वाब सङ्कलनपछि सबै सफ्टवेयरबाट काम हुन्छ”, बस्यालले भने, “फर्म र स्याम्पल बारकोडमा हालिन्छ । यसले हराउने र तलमाथि हुने सम्भावना कम हुन्छ।”

सबै रिपोर्ट डिजिटल सिस्टममा हुने भएकाले फाइल पल्टाउने झन्झट गर्नु नपर्ने उनले बताए।

प्रयोगशाला प्रमुख डा नितु अधिकारीले नमूना दिने सम्बन्धित व्यक्तिले नमूना दिँदा आफ्नो सही विवरण, नाम, ठेगना, उमेर र मोबाइल नम्बर दिन अनुरोध गरिन्।

“कसैले झुटो विवरण टिपाए रिपोर्ट पनि त्यस्तै आउँछ, सफ्टवेयरमा इन्ट्री भएपछि केही गर्न सकिँदैन”, डा अधिकारीले भनिन्। रिपोर्ट मोबाइलमा पठाउन सुरु भएपछि कर्मचारी र सर्वसाधारण दुवैलाई सहज हुने भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए।

रिपोर्टकै लागि धेरै समय खर्च गर्नुपर्ने बाध्यता हट्ने उनको विश्वास छ।

अहिलेसम्म म्यानुअल तरिकाबाट चलेको प्रयोगशालालाई स्वचालित प्रणालीबाट चलाउने मेसिनको माग भइरहेको छ। चैत २१ गते स्थापना भएको प्रयोशागालमा हालसम्म करीब २१ हजार नमूना परीक्षण गरिएको छ।

चितवनसहित विभिन्न १५ जिल्लाका नमूना परीक्षणका लागि भरतपुर आउने गरेका छन्।

रासस

प्रतिक्रिया दिनुहोस्