धनगढीमा कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा सङ्कलन सुरु

कैलाली। धनगढीमा रक्त संचार केन्द्रले सामाजिक विकास मन्त्रालयको समन्वयमा कोभिड-१९ संक्रमितको उपचारका लागि प्लाज्मा सङ्कलन कार्यको आजबाट शुभारम्भ गरेको छ।

नेपाल रोडक्रस सोसाइटी रक्त संचार केन्द्रमा आयोजित कार्यक्रम प्रदेशको सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले प्लाज्मा संकलन कार्यको शुभारम्भ गरेका छन्।

कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री सुबेदीले कोभिड-१९ संक्रमित भइ निको भएकाहरूले प्लाज्मा दिन सक्ने भएकाले कोभिड-१९ संक्रमित भइ निको भएकाहरुलाई रक्तदान गरी कोरोना संक्रमित बिरामीका लागि सहयोग गरिदिन आग्रह गरे।

नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति उत्तम जोशीले मोसफलमा कैलाली शाखाले यो कार्यक्रमको सुरूआत गरेको बताए।

उनले कोभिड-१९ का बिरामीहरूका लागि प्लाज्मा थेरापी विधि उपयुक्त भएको बताउँदै कोभिड-१९ निको भएकाहरू सम्पर्कमा आउन आग्रह गरे।

सुदूरपश्चिम मै पहिलो पटक कोभिड-१९ संक्रमण भएका स्वास्थ्यकर्मी जनक सिंह धामीले आफू जस्तै संक्रमितका लागि रक्तदान गर्न पाएकोमा खुसी व्यक्त गरे।

उनले आफूले पहिलो पटक रक्तदान गर्न लागेको भएपनि कुनै असजिलो महसुस नभएको बताए। त्यस्तै अर्का संक्रमित स्वास्थ्यकर्मी दुर्गादत्त भट्टले समेत प्लाज्मा थेरापीका लागि रक्तदान गर्न पाउदा खुसी लागेको बताए।

पछिल्लो पटक कोभिड-१९ संक्रमितका लागि प्रभावकारी मानिएको प्लाज्मा थेरापीले संक्रमितको शरिरमा एन्टीबडी उत्पादन गर्ने र त्यसले कोरोना भाइरससंग जुध्न मद्दत गर्ने भएकाले यो विधि उपयुक्त हुने सेती प्रादेशिक अस्पतालमा कोभिड-१९ उपचारमा संलग्न वरिष्ठ फिजिसियन डाक्टर शेर बहादुर कमरले बताए।

प्लाज्मा थेरापीका लागि आज ३ जना स्वास्थ्यकर्मी र अन्य दुई जनाले रक्तदान गरेको रक्त संचार केन्द्रका प्रमुख धरणीधर पन्तले बताए।

प्रतिक्रिया दिनुहोस्