एक सय ११ जना कैदीबन्दी कोरोना संक्रमित, ६२ जना उपचाररत

काठमाडौं । कोरोना भाइरसबाट एक सय ११ जना कैदीबन्दी संक्रमित भइसकेका छन्। कारागार व्यवस्थापन विभागका अनुसार कारागार कार्यालय जगन्नाथ देवल सुन्धारामा संक्रमित सर्वाधिक देखिएको छ।

त्यहाँका ५१ जना कैदीबन्दीमा संक्रमण देखिएको हो। संक्रमण देखिएकामध्ये दुई जना निको भएका छन्। ४९ जना उपचाररत छन्।

वीरगञ्ज कारागारमा रहेका ३३ जनामा पनि कोरोना संक्रमण देखिएको छ। २९ जना निको हुँदा चार जना उपचारको क्रममा छन्।

बाँकेको नेपालगञ्ज कारागारमा संक्रमित ८ जना नै निको भएका छन्। सिराहा कारागारमा संक्रमित देखिएका सातमध्ये तीन जना निको भएको र चार जना उपचाररत छन्।

सुनसरीको झुम्का कारागारमा पनि संक्रमित देखिएका नौ जनामध्ये चार जना निको भएका छन्। सिन्धुपाल्चोक कारागारमा संक्रमित भएका दुबै जना निको भएका छन्।

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि अधिकारीले हाल देशभर संक्रमण पुष्टि भएकामध्ये ४९ जना निको भएको बताए। ६२ जनाको उपचार भइरहेको छ।

कोरोनाको लक्षण देखिएका संक्रमितहरूको कोभिड–१९ अस्पतालहरूमा उपचार भइरहेको अधिकारीले बताए।

“सशस्त्र प्रहरीको बलम्बुमा रहेको अस्पतालमा धेरै कैदीबन्दीको उपचार भइरहेको छ र कीर्तिपुरमा रहेको आयुर्वेद औषधालयमा पनि भइरहेको छ”, उनले देखापढीसँग भने, “कोभिड अस्पतालमा उपचार भइरहेकाहरू कोरोनाको लक्षण देखिएकाहरू हुन्।”

लक्षण नदेखिएका संक्रमितहरू भने सम्बन्धीत कारागारमै छन्। उनीहरूलाई आइसोलेसेन वार्ड स्थापना गरेर राखिएको विभागले जनाएको छ।

विभागका अनुसार संक्रमण देखिएकालाई ब्लक/ब्लकमा छुट्याएर राखिएको हो। संक्रमणको जोखिमका कारण ब्लक÷ब्लकमा अलग्याएर राख्नु परेको विभागले स्पष्ट पारेको छ।

यसैबीच, कारागारमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र स्वास्थ्यकर्मीहरू गरी ८५ जनामा पनि कोरोना संक्रमण देखिएको छ।

उनीहरूमध्ये २४ जना संक्रमणमुक्त भएका छन्। ६१ जना उपचाररत छन्। कोभिड–१९ अस्पतालहरूमा संक्रमितहरूको उपचार भइरहेको हो।

हाल देशको ७१ जिल्लाको कारागार कार्यालयमा कैदीबन्दी छन्। क्षमताभन्दा चार गुणासम्म कैदीबन्दी छन्।

एकातिर कोरोना संक्रमणको महामारी फैलिएको बेला संरचना अभावमा कारागारहरूमा कैदीबन्दी कोचाकोच अवस्थामा छन्।

जनस्वास्थ्यविद्हरूले कोरोना संक्रमण कारागारमा आगो जसरी सल्किन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्