सङ्क्रमित आमाबाट जन्मिए स्वस्थ जुम्ल्याहा बच्चा

भरतपुर। चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन्।

शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ। गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन्। आमाको सङ्क्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा. रामप्रसाद सापकोटाले जानकारी दिए।

आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने उनले बताए। डा. सापकोटाले कोरोना सङ्क्रमण नसरोस् भनी पूर्वतयारी गरेर अप्रेसन गरिएको जानकारी दिए।

भरतपुर अस्पतालले गर्भवतीको प्रसूतिका लागि कोभिड र ननकोभिड छुट्टाएर राखेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए।

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाको अप्रेसन गरिएको यो दोस्रोपटक भएको उजले जानकारी दिए। भरतपुर अस्पताल राजधानी काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो।

रासस

प्रतिक्रिया दिनुहोस्