कारबाहीसँगै मास्कको प्रयोग बढ्यो

डोटी। मास्क प्रयोग नगरी सार्वजनिक स्थान तथा बजारमा हिडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न सुरु गरेको छ। जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्न थालेपछि सार्वजनिक स्थान, बजार तथा पशलमा मास्क प्रयोग नगरी हिडडुल गर्नेलाई जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलको ३६ नम्बर गणबाट खटिएको प्रहरी टोलीले चेतावनी स्वरुप रु १०० जारीवाना तिराउन सुरु गरेको हो।

फिल्डमा खटिएको प्रहरी टोलीले बिहीबारसम्म कम्तिमा पनि ४०० भन्दाबढी मास्क प्रयोग नगरी हिड्नेलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मास्क प्रयोग नगरी बजार हिड्नेलाई कारबाही गर्न थालेपछि यहाँका स्थानीय अहिले मास्क प्रयोग गर्न थालेका छन्।

मास्कको प्रयोग नगरी हिँड्ने तथा सवारी साधन चलाउनेलाई कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेले बताए।

“कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेको छ, मास्क प्रयोग नगर्नेलाई जारीवाना तिराउन थालेका छौँ, अटेर गर्नेलाई थप कारबाही गर्छौँ,”उनले भने।

प्रहरी नायव निरीक्षकको कमान्डमा यहाँका प्रमुख व्यापारी केन्द्र तथा बढी मानिसको भीडभाड हुँने क्षेत्रमा प्रहरी टोली खटिएको प्रहरी प्रमुख तथा एसपी पाण्डेले जानकारी दिए। प्रहरीले कारबाही गर्न सुरु गर्नु अघि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा एक सातासम्म मास्क प्रयोग गर्न सचेतना कार्यक्रम सञ्चालन गरेको थियो।

यहाँको प्रहरीले ‘कोरोनाबाट सचेत बनौँ, आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने जस्ता सन्देशमुलक सूचनाहरु पनि प्रवाह गर्न थालेको छ।

प्रहरीले मास्कको प्रयोग नगर्नेलाई कारबाही गर्न थालेपछि जिल्लामा मास्क प्रयोग गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको दिपायल सिलगढी नगरपालिका-२ दिपायलका स्थानीयवासी रतन कठायतले बताए।

“यहाँका नागरिकले कोरोनालाई ख्याल ठट्टा मानी निकै लापरवाही गर्दै आएका थिए, प्रहरीले कारबाही गरी जारीवाना तिराउन थालेपछि प्राय बजार घुम्ने सबैले मास्क प्रयोग गर्न थालेका छन्,” उनले भने।

मास्क प्रयोग गर्न अटेर गर्नेलाई कारबाही स्वरुप जरिवाना तथा कारोना भाइरसको बारेमा जानकारी गराएर छाड्ने गरिएको तथा स्वास्थ्य सावधानी नअपनाई भीडभाड गरी हिडडुल गर्न थालेपछि कोरोना सङ्क्रमण फैलने डरले कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए।

“समान्यतया रु ५ को मास्क किन्न नसक्ने को हुन्छर?” उनले भने, “कोरोनासँग खेलवाड गर्नेलाई हामीले ठाउँको ठाउँ कारबाही गर्न थालेका छौँ, केहीलाई सम्झाइ बुझाइ गरी पहिलो पटक छोड्ने गरेका छौँ, अर्को पटक गल्ति दोहरीए छोडिन्न।”

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार डोटी जिल्लामा मात्रै पछिल्लो समय ९०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका स्थानीयमा मात्रै अहिले सम्म कोरोना सङ्क्रमण देखिएको छ। घर बाहिर हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाई हिँडडुल गरेको खण्डमा वा सामाजिक तथा भौतिक दूरी कायम नगरिएको भेटिएमा सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराईले बताए।

“कोरोना सङ्क्रमणबाट जोगिन हामीले आम नागरिकलाई सचेतना दिन थालेका छौँ, अटेर गरेको पाइए ऐनअन्तर्गत कारबाही हुन्छ,” उनले भने।

यतिमात्र नभइ प्रहरीले पहिलो चरणमा मास्क प्रयोग गर्न सचेतना जगाउने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा नि:शुल्क मास्क वितरण पनि गर्न थालेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेशबहादुर शाहीले जानकारी दिए।

रासस/विमलबहादुर विष्ट

प्रतिक्रिया दिनुहोस्