पीसीआर किटले काम गरेन: स्वाब परीक्षणमा समस्या
काठमाडाैं। कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा कोभिड-१९ को परीक्षणका लागि भनेर पठाएको किटले काम गर्न सकेको छैन।

प्रदेश अन्तर्गतको स्वास्थ्य सेवा निर्देशनालयले पीसीआर विधिबाट पाँच सय जनाको स्वाब परीक्षण गर्न सक्ने किट पठाएकोमा सो किटले काम नगरेको चौरजहारी प्रयोगशालाले जनाएको छ।

काम नगरेपछि सो किट प्रयोगशालामै थन्किएको छ। निर्देशनालयले सो किटसँगै एक्सट्रयाक्सन किट पनि भदौ ३ गते प्रयोगशालामा पठाएको थियो।

निर्देशनालयले पठाएको किटले पीसीआर परीक्षणको नतिजा दिन नसकेको चौरजहारी नगरपालिकाका स्वास्थ्य सह–संयोजक डण्डप्रसाद शर्माले जानकारी दिए।

पीसीआर र एक्ट्रयाक्सन किटले कुनै व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भए नभएको पत्ता लगाउने काम गर्छन्। सो किटले कोरोना भाइरस पोजेटिभ वा नेगेटिभ नै छुट्याउन नसकेको सह-संयोजक शर्माको भनाइ छ।

यसअघि पनि यो किट निर्देशनालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख प्रयोगशालामा पनि पठाएको बुझिएको छ। त्यहाँ पनि काम नगरेपछि फिर्ता भएका सो किट चौरजहारीमा पठाएको सह–सह–संयोजक शर्माले बताए।

किटले काम नगरेपछि फिर्ता पठाउने तयारी भैरहेको उनको भनाइ छ। मौखिक जानकारी यसअघि नै गराइसकिएको र लिखित जानकारीसहित किट फिर्ता पठाउने तयारी भैरहेको उनले बताए।

कर्णाली स्वास्थ्य सेवा निर्देशनालयले भने किट खराब नभएको दाबी गरेको छ। किट खराब भएको होइन, पीसीआर मेशिन र किट म्याच नभएको हुन सक्ने दाबी निर्देशनालयको छ।

चौरजहारीमा पठाइएका किट म्याच नभएको जानकारी आएको र उक्त किट फिर्ता मागिएको निर्देशनालयका निर्देशक रीता भण्डारीले बताए। यी किट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएको र सुर्खेतमा काम गरिरहेको निर्देशक भण्डारीको भनाइ छ।

मेशिन अनुसार किटले काम गर्ने वा नगर्ने भन्ने सम्भावना हुने भएकाले चौरजहारीमा रहेको पीसीआर मेशिनसँग  किट म्याच नभएको तर सुर्खेतमा भने काम भैरहेको उनले जानकारी दिए।

रासस

प्रतिक्रिया दिनुहोस्