‘कार्यालय आइसोलेसन’मा पाँच रेडियोकर्मी: कोरोनाविरुद्धको युद्ध लड्दै, रेडियो चलाउँदै

काठमाडौं। वीरगञ्जस्थित नारायणी एफएमका पाँच जना रेडियोकर्मीमा कोरोना भाइरसको संक्रमण भएको छ। संक्रमित पाँच जना नै कार्यालयमै आइसोलेसनमा बसेका छन्।

कोरोनाविरुद्धको लडाईँ लडिरहेका ती पाँच रेडियोकर्मी आफ्नो पेसागत जिम्मेवारी पनि निर्वाह गरिरहेका छन्, रेडियोमा कार्यक्रम चलाएर। रेडियोकर्मी शिव नाथ यादवका अनुसार संक्रमण पुष्टी भएका पाँच जना कार्यालयमै बसेका छन् भने बाँकी कर्मचारी होम क्वारेन्टाइनमा छन्। उनी संक्रमण पुष्टी भएका पाँचमध्ये एक हुन्।

घरमा बसेकाहरूले समाचार बनाएर पठाउँछन्, अनि शिवले हरेक घण्टाको समाचार पढ्छन्। भदौ ५ गते रेडियोका ६ जना रेडियोकर्मीले पीसीआर परीक्षण गराएका थिए। ती मध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो।

रेडियो व्यवस्थापनका अनुसार रिपोर्ट पोजेटिभ आएपछि उनीहरू आइसोलेनमा बस्नै प¥यो। आधा कर्मचारी आइसोलेसन र अरू होम क्वारेन्टिनमा बस्दा रेडियो नै बन्द गर्नुपर्ने अवस्था आएको थियो। तर, त्यति नै बेला पोजिटिभ आएकाहरूले अर्को प्रस्ताव राखे– “हामीहरू अफिसमै बसेर रेडियो पनि चलाउँछौं, कोरोनासँगको युद्ध पनि जित्छौं। तपाईँहरू घर मै बस्नुस्।”

अहिले तीनै पाँच जना कोरोना संक्रमितले नारायणी एफएम चलाइरहेका छन्।

“होम क्वारेन्टिनमा बसेकाले समाचार/साम्रगी पठाउँछन्। हामीले कार्यक्रम चलाउनुका साथै समाचार पनि सम्प्रेशण गर्ने गरेका छौं,” संक्रमित रेडियोकर्मी शिव भन्छन्।

रेडियोका अध्यक्ष गोविन्द देवकोटाले संक्रमित सबैलाई कोभिड अस्पताल लैजाने तयारीपछि रेडियो नै बन्द हुने अवस्थामा पुगेको तर उनीहरुले नै ‘कार्यालय आइसोलेसन’को प्रस्ताब गरेपछि प्रशारण बन्द गर्नु नपरेको बताए।

“यस्तो अवस्थामा संक्रमण भएका पाँच जना साथीहरुले रेडियोमा आइसोलेशन बनाएर बस्ने र रेडियो संचालन गर्ने निर्णय गर्नुभयो। उहाँहरुले नै अहिले रेडियो सञ्चालन गरिरहनुभएको छ,” अध्यक्ष देवकोटाले भने।

गत साउन १८ गते स्टेशन प्रमुख नै संक्रमित भएका थिए। उनलाई साउन १९ गते कोभिड अस्थायी अस्पताल हेल्थकेयरमा भर्ना गरिएको थियो। तर स्टेसन प्रमूख अस्पताल भर्ना भएको १२ दिनपछि कोरोना मुक्त भएर साउन ३० घर फर्किएको अध्यक्ष देवकोटाले बताए।

प्रतिक्रिया दिनुहोस्