चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पीसीआर परीक्षण गर्ने

काठमाडाैं। चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पीसीआर परीक्षण गर्नेभएको छ। काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पीसीआर परीक्षण गर्न लागेको हो।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रत्येक वडामा ३०० व्यक्तिका दरले पीसीआर परीक्षण गर्न लागेको जानकारी दिए। “नगरपालिकाभित्र अग्र भागमा खटेर काम गर्ने व्यक्तिको पीसीआर परीक्षण गर्न लागेका हौँ”, उनले भने।

नगरपालिकाभित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, औषधि र नाइ पसलमा कार्यरत व्यक्तिको पीसीआर परीक्षण गर्न लागिएको हो।

नगरपालिकाले नेपाली सेनाको सहकार्यमा उक्त परीक्षण गर्न लागेको हो। सङ्क्रमितको उपचारका लागि नगरपालिका-१ दहचोकमा रहेको मनमोहन अस्पतालमा आइसोलेशन सेन्टर स्थापना गर्न लागिएको छ।

यसै हप्ताबाट सञ्चालनमा आउने उक्त आइसोलेशन २०० श्ययाको हुनेछ। हाल सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा चन्द्रागिरिका बासिन्दाको कोरोना परिक्षण गराइएको छ। चन्द्रागिरिमा हालसम्म ३४ जनामा कोरोना सङ्क्रमण देखिसकेको छ।

यसअघि नगरपालिकाले स्वास्थ्य सेवा विभागको सहकार्यमा नागढुङ्गाबाट काठमाडौँ भित्रिने पाँच हजार बढी यात्रुको पिसीआर परीक्षणका लागि स्वाव सङ्कलन गरेको थियो।

अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म स्थगित

नगरपालिकाले नगरपालिकाभित्र पछिल्लो समय कोरोना सङ्क्रमणदर फैलिँदै गएसँगै आगामी भदौ १५ गतेसम्मलाई अत्यावश्यक बाहेक अन्य सबै सेवा स्थगन गर्ने निर्णय गरेको छ।

नगरप्रमुख गिरीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले चन्द्रागिरिभित्र अत्यावश्यक बाहेक अन्य सेवा स्थगन गर्ने निर्णय गरेको हो।

उक्त निर्णयसँगै अब नगरपालिकाले स्वास्थ्य सेवा, कोभिड–१९ नियन्त्रण र उपचार सेवा, विपद् व्यवस्थापन सेवा, सामाजिक सुरक्षा दर्ता तथा नवीकरण र पशु सेवा मात्र प्रदान गर्ने भएको छ।

वडा कार्यालयका अत्यावश्यक सेवा दिउँसो १ बजेसम्म प्रदान गर्ने र कर्मचारी र जनप्रतिनिधि आलोपालो गरी सेवा प्रदान गरिने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।

यस्तै स्वास्थ्य सेवा प्रवाह गर्दा स्वास्थ्यकर्मीले आवश्यकताअनुसार आलोपालो गरी सेवा मिलाउने नगरपालिकाले जनाएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्