तनहुँको भानु नगरपालिका एक साता बन्द
काठमाडाैं। तनहुँको भानु नगरपालिका-१ का सर्वसाधारणमा कोरोना पुष्टि भएपछि भानु नगरपालिका एक साताका लागि बन्द गरिएको छ। कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि नगरपालिका र सम्पूर्ण वडा कार्यालयको सेवा एक साताका लागि बन्द गरेको हो।

नगरवासीलाई कोरोना सङ्क्रमणको जोखिमबाट बचाउन नगरपालिका र सम्पूर्ण वडा कार्यालय आजदेखि आगामी भदौ २ गतेसम्मका लागि बन्द गरिएको नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिए।

उनका अनुसार नगरपालिकाका केही क्षेत्रमा प्रतिनिधिमूलक रुपमा गरिएको परीक्षणमा एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको र कार्यालयहरुमा सेवाग्राहीको भीडभाड बढेकाले सेवा बन्द गर्ने निर्णय गरिएको हो।

“कार्यालयमा सेवाग्राहीको भीड बढेकाले जोखिम भएको तथा जिल्लाका अन्य स्थानमा पनि सङ्क्रमितहरु भेटिएको हुँदा नगरपालिकाको कार्यालय र यसअन्तगर्तका सम्पूर्ण वडा कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु बन्द गर्ने निर्णय गरिएको छ”, उनले भने।

नगरपालिकाभित्र रहेका सार्वजनिक सेवा प्रवाह गर्ने सङ्घसंस्था, वित्तीय संस्थाको कार्यालय पनि बन्द हुने नगरपालिकाले जनाएको छ। त्यसैगरी नगरपालिकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधन तथा अत्यावश्यक सेवाका वस्तु तथा सेवाहरु बन्द गर्न नगरपालिकाले अनुरोध गरेको छ।

यस अवधिमा स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा तथा कार्य र कोभिड-१९ सँग सम्बन्धित सम्पूर्ण कार्य तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यहरु भने सञ्चालन हुनेछ। स्वास्थ्यसम्बन्धी यी सेवाहरु प्राप्त गर्न पनि व्यक्तिगत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने नगरपालिकाले जनाएको छ।

सोमबार कोरोना पुष्टि भएका ती व्यक्तिलाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र भर्ना गरिएको छ।

ती व्यक्तिको सम्पर्कमा आएका सबैको कन्ट्याक ट्रेसिङका आधारमा र परिवारका अन्य सदस्यहरुको पनि स्वाब परीक्षणका लागि पठाइएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए।

यसैगरी बन्दीपुर गाउँपालिकाले वडा नं ५ का एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त ठाउँको आँधीखोलादेखि गोहोरे चौतारा थुम्का र मस्र्याङ्दी नदीसम्मको क्षेत्रमा अत्यावश्यक कार्यबाहेक अन्य कुनै पनि काम नगर्न-नगराउन अनुरोध गरेको छ।

कोरोना सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ सहज गर्नका लागि सोमबारदेखि बिहीबारसम्म उक्त ठाउँहरुमा काम गर्न बन्द गरिएको गाउँपालिकाका प्रवक्ता ध्रुवप्रसाद लामिछानेले जानकारी दिए।

उनका अनुसार ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएकाले समुदायमा थप सङ्क्रमण फैलिने जोखिम उच्च रहेकाले सजगता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्