एकै टोलमा १० जना कोरोना संक्रमित भेटिएपछि गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल

काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर-५ मा पर्ने गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ। वडा कार्यालयले उक्त क्षेत्र सिल गरेको हो।

हाँडीगाउँमा एकै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्र सिल गरिएको काठमाडौंको वडा नं. ५ का सदस्य उत्तम शर्माले बताए।

संक्रमित देखिएका व्यक्तिहरू प्रहरीका परिवार र स्थानीय घरधनी रहेको बताइएको छ। प्रहरी सहित उनका परिवारलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू बस्ने घरधनीको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको शर्माले बताए।

संक्रमित प्रहरीका परिवारको पाँच जनालाई अस्पताल लगिएको र घरधनीहरूलाई भने होम आइसोलेशनमै राखिएको उनले बताए।

“आज विहान ११ बजेबाट उक्त क्षेत्र सिल गरेको भनी सूचना जारी गरेका छौं। भोलि कोभिड–१९ समितिको बैठक बसेर आवश्यक निर्णय गर्ने तयारी गरिएको छ”, शर्माले देखापढीसँग भने।

हाँडी गाउँको कोटाल टोलमा बस्ने ती प्रहरीहरूलाई संक्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका भनिएका २५ जनाको स्वाव संकलन गरेर परिक्षण गरिएको थियो। त्यसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको थियो।

उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको र उनीहरूको पनि स्वाव संकलन गरेर परीक्षणको तयारी भइरहेको उनले बताए।

गहनापोखरी–हाँडीगाउँ क्षेत्रका सबै पसल बन्द गरिएका छन भने अत्यावश्यक काम बाहेक आवागनमा प्रतिबन्ध लगाइएको छ। स्थानीय समुदायले उक्त क्षेत्रलाई थप समय सिल गर्न सुझाव दिएमा समितिमा छलफल गरेर निर्णय गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्