सङ्क्रमित परिवारका कम्तीमा दुई जनाको कोरोना परीक्षण
महेन्द्रनगर। सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताए।
“कोरोना पोजेटिभ भएर होम क्वारेन्टिनमा बसेका सङ्क्रमितका घरका कम्तीमा दुई सदस्यको पनि कोरोना परीक्षण गर्न निर्देशन दिएका छौँ”, उनले भने, “सोहीअनुसार जनस्वास्थ्य कार्यालयले स्वाब सङ्कलन शुरु गरिसकेका छन्।”
शुक्रबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी ४० हजार ५३७ को पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको निर्देशनालयले जनाएको छ। जसमध्ये चार हजार ७६० जना कोरोना पोजेटिभ देखिएका छन्।
“यहाँ अहिलेसम्म समुदायस्तरसम्म कोरोना फैलिसकेको छैन,” निर्देशक डा अवस्थीले भने, “सङ्क्रमित अधिकांश बाहिरबाट आएर क्वारेन्टिनमा बसेका हुन्।” सङ्क्रमित देखिएकामध्ये ७० प्रतिशत बिरामी निको भएर घर फर्किसकेको अवस्था रहेको छ।
हालसम्म सुदूरपश्चिममा तीन हजार ९३८ जना सङ्क्रमित कोरोना जितेर घर फर्किसकेको निर्देशनालयले जनाएको छ भने कोरोना सङ्क्रमणबाट कैलालीमा चार, बझाङ र बाजुरामा दुई/दुई र अछाममा एक गरी नौ जनाको मृत्यु भइसकेको छ।
निर्देशक डा अवस्थीले समुदायमा पनि कोरोना परीक्षण गर्न निर्देशन दिएबमोजिम डोटी जिल्लामा समुदायका ४५० जनाको कोरोना परीक्षण भइसकेको बताए।
“डोटीका बढी सङ्क्रमित स्थानीय तहमा समुदायका ४५० जनाको कोरोना परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको छ,” उनले भने, “अन्य जिल्लामा पनि सङ्क्रमित व्यक्तिका घरका अन्य सदस्यको पनि परीक्षणको काम चलिरहेको छ।”
जिल्ला अस्पताल बैतडीले भने आगामी भदौ दोस्रो साताबाट परीक्षण शुरु गर्ने गरी मेशिन जडानको काम शुरु हुने जनाएको छ। त्यसैगरी कोभिड-१९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले  पालिकासित समन्वय गरेर समुदायस्तरमा परीक्षण गर्ने तयारी भइरहेको बताए।
“यहाँको प्रयोगशालाबाट अन्य पहाडी जिल्लाको समेत कोरोना परीक्षण भइरहेको छ,” उनले भने, “यहाँ दैनिक औसतमा १५० जनाको कोरोना परीक्षण हुँदैछ।”
त्यस्तै कञ्चनपुरस्थित कोभिड-१९ का सम्र्पक व्यक्ति सिद्धराज भट्टले यहाँ परीक्षणका लागि सङ्कलन गरिएकामध्ये ५०० को रिपोर्ट आउँनै बाँकी रहेको बताए। “समुदायस्तरमा पनि सम्भावित लक्षण देखिए र सङ्क्रमितको सम्र्पकमा आएकालाई प्राथमिकतामा राखेर परीक्षण गर्ने भन्ने निर्देशन छ,” उनले भने, “रिपोर्ट ढिलो आउँदा समस्या भइरहेको छ।” भारतबाट आएर कञ्चनपुरका क्वारेन्टिनमा बसिरहेका २०२ जनाको स्वाब सङ्कलन बाँकी रहेको उनले बताए।
“भिटिएम पनि हामीसित थोरै सङ्ख्यामा छ”, उनले भने, “पालिकासित समन्वय गरेर स्वाब सङ्कलन भइरहेकै छ।”
स्थानीय तहलाई अधिकार प्रत्योजन
त्यसैगरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी वा निषेधाज्ञा गर्न सक्ने गरी स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरेको जनाएको छ।
जिल्ला सङ्क्रमणको उच्च जोखिममा रहेकाले जुनसुकै बेला पनि अत्यावश्यक निर्णय गर्नुपर्ने भएको हुँदा आ-आफ्नो पालिकाभित्रको अवस्थालाई हेरेर सम्बन्धित पालिकाले समेत निर्णय गर्नसक्ने सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए। यसअघि मुलुकमै पहिलोपटक कञ्चनपुर प्रशासनले गत चैत ९ गते लकडाउन गरेको थियो।
उनले गृहमन्त्रालयबाट जारी आदेशअनुसार कञ्चनपुर जिल्लामा समेत सवारी साधनमा शुक्रबारदेखि जोरबिजोर प्रणाली कार्यान्वयन गरिने बताए।
रासस
प्रतिक्रिया दिनुहोस्