आज निवेदन, भोलि मात्रै सवारी पास
काठमाडाैं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ।

कार्यालय परिसरमा मानिसको अत्याधिक भीड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरूमा समेत कोभिड-१९ देखिन थालेकाले भीडभाड रोक्न र सामाजिक दूरी कायम गर्न उक्त व्यवस्था गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए।

आज मात्रै मुलुकभर ३६० जनामा कोरोना देखिएकामध्ये उपत्यकाका मात्रै ८७ जना छन्। अब अत्यावश्यक कामका लागि गाडीको पास चाहिएमा काठमाडौं प्रशासनमा अघिल्लो दिन निवेदन दिएर जाने तथा त्यसको भोलिपल्ट मात्रै पास लिनका लागि आउनुपर्ने हुन्छ।

निवेदन दिएर सोही दिन पास लिन कुर्दा मानिसको भीडभाड बढी हुने भएकाले त्यस्तो व्यवस्था गरिएको जनाइएको छ।

पाण्डेका अनुसार अघिल्लो दिन सङ्कलन भएको निवेदनको आधारमा भोलिपल्ट बिहान ८ बजेबाट पास वितरण गरिने छ। त्यसका लागि गेटमै निवेदन दिने र सोही स्थानबाट पास लिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

काठमाडौँमा पछिल्लो समयमा कोभिड-१९ को जोखिम बढ्दै गएकाले आवागनमा कडाइ गरिएको तथा सीमा नाकामा निगरानी बढाइएको छ।

गृह मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गर्दै अत्यावश्यक काम बाहेकका लागि पास नदिन निर्देशन जारी गरिसकेको छ। मन्त्रालयले आजदेखि लागू हुने गरी यातायातमा जोर बिजोर प्रणाली लागू गरेको छ।

रासस

प्रतिक्रिया दिनुहोस्