परीक्षणको दायरा बढाउँदै काठमाडाैं महानगर
काठमाडाैं। बन्दाबन्दी  खुलेसँगै पछिल्लो समय कोभिड-१९ सङ्क्रमितको सङ्ख्या बढेपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ।
साउन १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका वडा १४ र २८ जनप्रतिनिधि, कर्मचारी, वडामा नियमित आवतजावत गर्ने व्यक्ति र बिरामीको सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिएको कामपाले जनाएको छ।
सोमबार वडा २८ का ६५ जना र वडा १४ का ३२ जनाको गरी ९७ जनाको पिसिआर परीक्षण गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। यही १४ गते वडा २८ मा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
सङ्क्रमण पुष्टि भएका व्यक्तिका एक जना घरधनी वडामा सेवा लिन आएपछि सङ्क्रमणको जोखिम बढेकाले परीक्षण गरिएको हो।
त्यसैगरी वडा नं १४ मा पनि सर्लाहीबाट आएका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सरकारले बन्दाबन्दी खोलेपछि पछिल्लो समय देशभरि नै कोरोना सङ्क्रमण बढिरहेको छ।
वडा २७ मा सङ्क्रमितको सम्पर्कमा रहेका ३०२ जनाको साउन १३ गते कोरोना परीक्षण गराइएको थियो। परीक्षणका क्रममा २० दिनअघि भारतको सीतामढीबाट आएका एक महिलामा सङ्क्रमण पोजेटिभ देखिएको थियो।
उनीबाट पहिले उनका भाइमा सङ्क्रमण सरेपछि उनीहरुको सम्पर्कमा रहेकालाई खोज्दै १५ जनालाई परीक्षण गरिएको थियो।
ठूलो जमातमा सङ्क्रमण फैलिए त्यसलाई न्यूनीकरण गर्न समस्या हुने भन्दै प्रमुख शाक्यले आज एक विज्ञप्ति जारी गरी सबै नगरवासीलाई आग्रह गरेका हुन्।
रासस
प्रतिक्रिया दिनुहोस्