कोरोना प्रभावित फुटबल खेलाडीलाई राहत

बागलुङ। कोरोनाका कारण प्रतियोगिता गुमेपछि आर्थिक समस्यामा परेका फुटबल खेलाडीलाई राहत रकम बाँडिएको छ।

अखिल नेपाल फुटबल सङ्‍घको सहयोगमा जिल्ला फुटबल सङ्‍घ बागलुङले १५ व्यावसायिक खेलाडी र चार जना अफिसियललाई चार हजार रुपैयाँका दरले बुधबार राहत प्रदान गरेको हो।

राहत रकम वितरण गर्दै गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले खेलकुद क्षेत्र समृद्धि र प्रगतिको आधार भएको बताए। उनले सङ्‍कटका बेला खेलाडीलाई सघाएकामा फुटबल सङ्‍घको प्रशंसा गरे।

जिल्ला लिगसहित ए, बी र सी डिभिजन लिग खेलेका खेलाडीलाई मात्र राहत दिइएको सङ्‍घका जिल्ला अध्यक्ष रामराज गुरुङले बताए।

खेलाडी र अफिसियलाई गरी ७६ हजार रुपैयाँ राहतमा खर्च भएको उनको भनाइ छ। राहत रकमको चेक बुझेपछि खेलाडीले खुशी व्यक्त गरेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्