आज गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्व

काठमाडौं। प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ।

चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन्।

परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठेमङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठेमङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा किरा नलाग्ने विश्वास रहेको बताउँछन्।

यसैगरी बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ।

गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री-पुरुषले दर्शन गर्नुपर्ने चलन छ। यस्तो परम्परा अहिले पनि राजधानीको तीनै शहर काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।

यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाह्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुने विश्‍वास छ।

आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण मान्छन्। रासस

प्रतिक्रिया दिनुहोस्