अनलाइन वर्ल्ड पुम्से च्याम्पियनसिपमा नेपालका कमल श्रेष्‍ठले जिते स्वर्ण
काठमाडौं। फ्रान्समा जारी अनलाइन वर्ल्ड पुम्से च्याम्पियनसिपमा नेपालका कमल श्रेष्‍ठले स्वर्ण पदक जितेका छन्। ३० वर्षमुनि उमेर समूहको पुरूष विधामा कमलले स्वर्ण पदक जितेका हुन्।

यस विधामा कमलले नेपालकै जीतबहादुर बोटे र प्रेमबहादुर लिम्बूलाई पछि पारेका हुन्। जीतबहादुरले रजत तथा प्रेमबहादुरले काश्य पदक जिते।

कोभिड-१९ का कारण विश्‍व खेलकुद ठप्पजस्तै रहेको अवस्थामा अनलाइनमार्फत गराइएको प्रतिस्पर्धामा कमलले ७.६७ अंक ल्याएका थिए भने दोस्रो भएका जीतबहादुरले ७.५४ अंक ल्याए। प्रेमबहादुरले ७.५० अंक ल्याए।

३० वर्षमुनि उमेर समूहकै महिलातर्फ नेपालकी पार्वती गुरूङले रजत पदक जितेकी छन्। पार्वतीको विधामा अमेरिकाकी बेट्रिज करिना बेलिसिनाले स्वर्ण पदक जितिन् भने बुल्गेरियाकी सिमोना ग्रिगोरोभाले काश्य पदक जितिन्। पार्वतीको ७.३ अंक ल्याउँदा करिना बेलिसिनाले ७.३२ अंक ल्याइन्। बुल्गेरियाकी ग्रिगोरोभाले ७.२८ अंक ल्याइन्।

फ्रान्समा भइरहेको प्रतियोगितामा २७ देशको सहभागिता थियो। नेपालका कमल, जीतबहादुर, प्रेमबहादुर र सुरेन्द्रबहादुर महराले पुरूष ३० वर्षमुनिको उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए। पार्वती र  सीता तामाङले महिला ३० वर्षमुनिको उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए। लक्ष्‍मणबहादुर ऐरले भने ५० वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए।

लक्ष्‍मणबहादुर ऐरले सहभागिता जनाएको उमेर समूहमा भने आज प्रतिस्पर्धा हुँदैछ। अन्यको प्रतिस्पर्धा भने सम्पन्‍न भइसकेको छ।

यसअघि जर्मनीमा सम्पन्‍न प्रथम अनलाइन डाएडो खुला युरोपियन च्याम्पियनसिप २०२० मा पाँच नेपाली खेलाडीले सहभागिता जनाएका थिए। उक्त प्रतियोगितामा नेपालका पाँचमध्ये पार्वती गुरुङ र लक्ष्‍मणबहादुर ऐरको यात्रा प्रिलिमिनरी राउण्डमै टुंगिएको थियो। जीतबहादुर बोट, कमल श्रेष्‍ठ र प्रेमबहादुर लिम्बूले भने सेमिफाइनलमा स्थान बनाएका थिए।

तेक्‍वान्दोको पुम्से विधामा ‘फिजिकल कन्ट्रयाक्ट’ हुँदैन। खेलाडीले गरेको प्रदर्शनका आधरमा अंक दिइने हो। त्यसका कारण कोभिड-१९ महामारीका बीच पनि पुम्सेमा अन्तर्राष्‍ट्रिय प्रतियोगिता भइरहेको छ।

यस प्रतियोगितामा सहभागीहरूले आफूले प्रदर्शन गरेको भिडियो युट्युबमा अपलोड गरेर आयोजकलाई लिंक पठाउनुपर्छ। त्यही भिडियो हेरेर नतिजा निकालिन्छ। नेपालमा भिडियो खिच्‍ने, पठाउने सबै कामको समन्वय लक्ष्‍मणबहादुर ऐरले गरेका थिए।

तेक्‍वान्दो संघका सचिव दीपक विष्‍टले यो वर्ल्ड तेक्‍वान्दो संघको आधिकारिक प्रतियोगता भएको बताए।

प्रतिक्रिया दिनुहोस्