बलिउडमा लागुऔषध: किन जया बच्चनमाथि खनिइन् कंगना ?

एजेन्सी। लागुऔषध विवादमा नायिका कंगना रनौत र विभिन्न राजनीतिक दलका सांसदहरू आमनेसामने भएका छन्। समाजवादी पार्टीकी सांसद जया बच्चन र भाजपा सांसद रवि किशनले बलिउडमा भइरहेको लागुऔषधका विषयमा कुरा उठाएका थिए।

राज्यसभा बैठकमा जयाले कसैको नाम नलिएर चलचित्र उद्योगमा नाम कमाउनेहरूले यो उद्योगलाई नालीको संज्ञा दिइरहेको बताइन्। सरकारले यस्ता खालका भाषाको प्रयोगमा रोक लगाउनुपर्ने उनको माग थियो।

उनले बलिउडमा भित्रिरहेको लागुऔषध कारोवारबारे छानबिन गर्नुपर्ने माग राखेका अर्का सांसद रविमाथी खनिएकी हुन्। त्यस्तै उनले कंगनाको आरोपको पनि खण्डन गरेकी थिइन्।

जयाले रविलाई लक्षित गर्दै भनिन्, "उनी बलिउड इण्ड्रस्टीबाटै उदाएका हुन्। यो लज्जास्पद छ। जुन थालीमा खायो, त्यसमै चुठ्ने? यो गलत कुरा हो।"

भाजपा सांसद रवि किशनले लोकसभामा ड्रग्स र बलिउड कनेक्सनको मुद्दा उठाएका थिए। उनले शून्य समयमा पाकिस्तान र चीनबाट ड्रग्सको तस्करी भइरहेको र देशको युवा पिँढीलाई बर्बाद गर्ने षड्यन्त्र भएको बताएका थिए। फिल्म उद्योगमा यसको प्रवेश भइसकेको र एनसीबीले अनुसन्धान गरी दोषीमाथि कडा कारबाहीको माग गरेका थिए।

त्यसको जवाफमा जयाले केही मानिसहरूका कारण चलचित्र उद्योग धमिलो भइरहेको बताएकी थिइन्। ड्रग्सको कुरा उठाएर रविले चलचित्र उद्योगविरुद्ध आवाज उठाएको उनको आरोप थियो।

भोजपुरी सुपरस्टार समेत रहेका सांसद रविले लोकसभामा बोल्दै बलिउडको लागुऔषध ओसारपसार प्रकरणमा केन्द्र सरकारले उच्चस्तरीय जाँच गर्नुपर्ने माग गरेका थिए। तर, जयाले उक्त कुराले बलिउड उद्योगलाई बदनाम गराउन खोजेको आरोप लगाएकी हुन्।

जयालाई कंगनाको जवाफ: कंगनाले ट्वीट माार्फत जयाको उक्त कुराको जवाफ फर्काएकी छन्। कंगनाले भनिन्, "जया जी, मेरो साटो तपाईंकी छोरी कुटिइएको भए, ड्रग्स दिइएको भए र युवावस्थामा शोषण भएको भए यस्तै भन्न सक्नुहुन्थ्यो। यदि अभिषेकले लगातार शोषणको कुरा गरेको भए वा उनलाई एकदिन झुण्डिएको अवस्थामा भेटेको भए, तपाईंले यस्तै भन्न सक्नुहुन्थ्यो? हामीमाथि सहानुभुति राख्नुहोस्।"

प्रतिक्रिया दिनुहोस्