बलात्कारविरुद्ध प्रकाश सपूतको ‘बदला बरिलै’

काठमाडौं। बलात्कारजस्तो जघन्य अपराधका घटना बढिरहेका छन्।

बलात्कारपछि हत्या गर्ने परिपाटी पनि देखिएका छन्।

बलात्कारपछि न्याय पाउन पीडितलाई वर्षौं लाग्ने गरेको छ। केही घटनामा त पीडितलाई दोषी देखाई पीडकलाई उन्मुक्ति दिइन्छ।

यस्तो अवस्थामा पीडितमाथि झन् पीडा थपिन्छ। यही कुरालाई लिएर गायक प्रकाश सपूतले तीज गीत ‘बदला बरिलै’ ल्याएका छन्।

देवी घर्ती मगरको स्वरमा रहेको गीतमा केकी अधिकारी, धुब्र कोइराला, बद्रि कुँवर लगायतको अभिनय छ।

बलात्कारीलाई कानूनले न्याय नदिएको खण्डमा देवी देवता तथा आत्माबाट न्याय मिल्ने कुरालाई देखाउन खोजेका छन्।

संगीत क्षेत्रमा करिअर बनाउन लागेकी एक युवतीको करिअर एक पुरुषले बर्बाद पारिदिन्छन्।

बलात्कारपछि हत्या गरेपछि आफ्नो सपना पूरा गर्न नसकेकी ती युवतीले न्याय पाउँदिनन्। त्यसपछि उनको आत्माले बदला लिएको गीतमा देखाउन खोजिएको छ।

“हाम्रो समाजमा अझै पनि कहीँ कतैबाट न्याय नपाए देवीदेवताबाट न्याय पाइने विश्वास छ। त्यही मान्यतालाई आधार मानेर गीत तयार पारिएको हो”, गायक सपूतले भने।

भगवानप्रतिको जनविश्वास र न्याय नपाउँदा हुने पीडालाई लिएर नै गीत बनाइएको उनको भनाइ छ। “बलात्कारजन्य घटनालाई आफ्नो कामबाट कसरी सम्बोधन गर्ने भनेर एक वर्षअघिदेखि नै सोचिरहेको थिएँ। लकडाउनको सदुपयोग गर्दै गीत तयार पारियो,,” सपूतले भने।

बलात्कारपछि मृत्यु भएका दिदीबहिनीलाई समर्पित गरिएको भिडिओलाई प्रकाशले आफ्नो फरक प्रस्तुति भनेका छन्।

यसरी सुरु हुन्छ भिडिओ

श्रीमान काम विशेषले घर बाहिर निस्किन खोज्छन्।

श्रीमतीः हजुरको लामो आयूको लागि ब्रत बसेकी छु। हजुर बाहिर नगए हुन्न र, फेरि हजुरलाई केही भइहाल्यो भने?

श्रीमानः बढी नबोल के हुन्छ र मलाई ? देशका त्यत्रा ठूल्ठूला मानिसहरूसँँग संगत छ मेरो। कसैले केही गर्न सक्दैन मलाई।

श्रीमतीः तपाईंका ठूला मानिसहरूले कानूनसँग त बचाउलान तर, भगवानसँग बचाउन सक्छन् र ? फेरि त्यो बाटोमा तर्साउँछ भन्छन्।

मोटरसाइकल चढेर बाहिर निस्किएका श्रीमान केही पर पुगेपछि एक युवतीले लिफ्ट माग्छिन्। र, युवतीलाई लिफ्ट दिएर अगाडि बढ्छन्।

त्यहीबेला युवतीले गीत गाउने अनुमति माग्छिन्। र, गीत गाउँछिन्।

कहानी सुरु गरुँ मैले काँ बाट,

बरिलै भन्न पनि लाजै छ।

जिन्दगीमा मेरो, घट्यो एउटा घटना,

बरिलै चोट अझै ताजै छ।

मेरो पनि आँखामा थिए धेरै सपना

बरिलै जिन्दगीको बारेमा

संसार जित्छु भनेर गरेकी थिएँ अठोट,

बरिलै आफैंसँग हारे म...

प्रतिक्रिया दिनुहोस्