२०७७ असार २९, सोमबार

लकडाउनपछि फेरियो दैनिकी : सडकमा गीत गाउने दृष्टिविहीन साबुन उत्पादनमा


गाेपेन राई
बिहिबार, असार ११, २०७७ १३:११
प्रकाशित: बिहिबार, असार ११, २०७७ १३:११

काठमाडौं। राजधानीका सडकमा अहिले गीत गाएर बस्ने दृष्टिविहीनहरू भेटिँदैनन्। काठमाडौं महानगरपालिकाले सडकपेटीमा बसेर माग्न रोक लगाएपछि चोक-चोकमा भेटिने दृष्टिविहीन समूह देखिन छाडेका थिए। 

त्यसो त कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनका कारण सडकमा मानिसहरूको आवतजावत ठप्प बनेको थियो। लकडाउन खुकुलो भएसँगै मानिसहरूको भीडभाड पुनः बढ्न थालेको छ।

चैत महीना यता लागू भएको लकडाउनपछि सडकमा गीत गाएर गुजारा चलाउँदै आएका दृष्टिविहीनहरूले नयाँ पेशा थालेका छन्। उनीहरूमध्ये केही ‘डल्ला साबुन’ उत्पादनमा लागेका छन्।

गोकर्णेश्वरस्थित नयाँपाटी चोकबाट एक किलोमिटर हिँडेपछि दृष्टिविहीनका लागि आमा घरले बनाएको टहरामा पुगिन्छ। त्यहाँ पुग्दा दृष्टिविहीन सात परिवार डल्ला साबुन बनाउन व्यस्त थिए।

ती परिवारमध्येकै टंकबहादुर राउत साबुन बनाउनका लागि एसिडाइल, पाम एसी र सिलकेड केमिकल उमालिरहेका थिए। यी तीन प्रकारका केमिकल पकाएपछि झोल बन्ने र त्यसैबाट साबुनको डल्ला बनाइने उनले बताए।

राउतका अनुसार करिब ६ घण्टा सुकाएपछि साबुनको डल्ला प्याकिङका लागि तयार हुन्छ। तीन वटा डल्लाको तौल एक किलो हुने उनले बताए। 

सोही समूहका तेजबहादुर मगराती आफूहरूले साबुन बनाउन थालेको १५ दिन मात्र भएको बताए। त्यस अवधिमा करिब पाँच सय केजी साबुन बिक्री गरिसकेको उनको भनाइ छ। "तीनवटा डल्ला भएको साबुनको एउटा प्याकेटको ६९ रूपैयाँ पर्न आउँछ,’’ मगरातीले भने, ‘‘हामीले पसलमा बेच्दा ७५ रूपैयाँमा बेच्छौं।"

महानगरले सडक पेटीमा बस्न नदिएपछि आफूहरूको रोजीरोटी नै गुमेको उनीहरूको गुनासो छ। तर, साबुन बनाउन थालेपछि यसबाट गुजारा सहज हुने अपेक्षा गरिएको मगराती बताउँछन्।

‘‘यही पेशालाई निरन्तरता दिने सोचमा छौं, तर हामीसँग आर्थिक अभाव छ,’’ उनले भने, ‘‘कसैले सहयोग गरिदिए हामी दृष्टिविहीन आफैं काम गरेर गुजारा चलाउन सक्ने थियौं।’’