२०७७ साउन १, बिहिबार

ह्विलचेयर म्याराथन धावक रामबहादुरको दोस्रो जीवनको कथा


सुनीता साखकर्मी
आईतबार, जेठ ३२, २०७७ ०१:१८
प्रकाशित: आईतबार, जेठ ३२, २०७७ ०१:१८

काठमाडौं। गलामा पहेँलो रंगको इन्ची टेप झुन्डिएको छ। हातमा रातो रंगको मास्क छ। अचेल रामबहादुर तामाङ यस्तै मास्क सिलाउन लागि परेका छन्। ह्विलचेयरमै बसेर उनी मास्क सिलाउँछन्। रातो मास्कमा सेतो लोती राख्छन्। 

उनले आफ्नै खर्चमा बनाएका मास्क साथीभाइलगायत, अस्पतालका अशक्त बिरामीसमेत गरी डेढ सय जना निःशुल्कलाई बाँडिसकेका छन्। स्पाइनल इन्जरी भएका उनी बनेपास्थित भोकेसनल अपरच्युनिटी फर इन्क्लुजन टु कम्युनिटी एन्ड इम्प्लोएमेन्टमा भोकेसनल ट्रेनरको रूपमा काम गर्छन्। उनी भन्छन्, “मास्क नपाएरै कोही कोरोना संक्रमित नहोस् भनेर निशुल्क वितरण गर्छु। सामान्य रोग र चोटले पनि गहिरो घाउ दिनसक्छ। त्यसैले रोग नै लाग्न नदिनु राम्रो हो।”

...

उनी १४ माघ २०३९ मा सिन्धुपाल्चोकको चिम्लिङ कफलबोटमा जन्मिएका थिए। बिकट थियो कफलबोट। विकट ठाउँको सामान्य परिवारमा जन्मिएका थिए उनी।

भात खान चाडबाड नै कुर्नुपर्थ्यो। दैनिकी ढिडो र तरकारीमै बितेको थियो। एकै जोर दौरासुरुवाल वर्षौं टिकाउनुपर्थ्यो।

गाउँ नजिकै विद्यालय थियो। तर उनले पढ्न पाएनन्। त्यतिबेला गाउँमा तामाङ समुदायका छोराछोरीलाई विद्यालय पठाउने चलन थिएन। 

उनलाई पनि पढ्न मन लाग्थ्यो। तर, परिवारले पढ्न पठाएनन्। अरु साथी पढ्न विद्यालय पुग्दा रामबहादुर भीरपाखामा बस्तुभाउ चराउँदै हुन्थे। 

उमेर सानो भएपनि रामबहादुरले सपना भने ठूल-ठूला देख्थे। आफूले पढेर अरुलाई पनि पढाउने, गाउँमा बिजुली, बाटो पुर्‍याउने। 

उनका बा काठमाडौंमा ज्यामी काम गर्थे। बेलाबेलामा घर पुगेका बाले शहरका कुरा सुनाउँथे। गलैँचा बुन्‍न भक्तपुर गएकी दिदीले पनि उनलाई शहरबारे बताउँथिन्। आलिशान घर, इन्जिन गाडी, बिजुली बत्ती, टेलिभिजन आदि इत्यादि सुन्दा उनको मनमा सपनाको बेग्लै संसार सजिन्थ्यो।  

गाउँमा उनी बस्‍न चाहँदैनथे। बा, दिदीहरूले बखान गरेको शहर हेर्न उनलाई हतार थियो। त्यसैले सानै उमेरमा सपनाहरूको ठूलो पोको बोकेर उनी गाउँकै एक दिदीसँग भक्तपुर आए। उनको गाउँभन्दा फरक थियो त्यहाँको जीवनशैली। नयाँ ठाउँ, नयाँ परिवेश उनलाई मन पर्दै थियो। 

दिदीसँगै उनी भक्तपुरको लोकन्थलीमा बस्‍न थाले। दिदीले गलैँचा बुन्‍ने ठाउँमा उनले पनि जागिर पाए। दिदीले नै उनलाई गलैँचा बुन्‍न सिकाइदिए। उनी खुसी थिए। उनले पैसा कमाउन थालिसकेका थिए। तर उनको खुसी लामो समय टिकेन। काम गर्न थालेको दुईवर्षपछि गलैँचा बुन्दाबुन्दै धागो काट्ने छुरीले उनको दाहिने आँखामा घोच्यो। सँगै काम गर्नेहरूले उनलाई त्रिपुरेश्‍वरको आँखा अस्पताल पुर्याए। अस्पतालको बेडमा सुतिरहँदा उनी सोच्थे- उपचारपछि आँखा निको हुनेछ। तर त्यस्तो भएन। 

“केही दिनपछि आँखाको पट्टी खोलिँदा दाहिने आँखाले देखिँन। नानी नै फुटेको रहेछ। आँखा नदेख्दा मलाई त छाँगाबाट खसेजस्तै भयो। धेरै रोएँ। अनि आफ्नै लापरवाहीलाई धिक्कारेँ,” उनी भन्छन्, “त्यतिबेला बुवाले मलाई आड भरोसा दिनुभयो। एउटा आँखा नभएनी अर्काेले संसार हेर्न सकिन्छ भनेर सम्झाउनुभयो।”

दुर्घटनापछि बुवाले उनलाई घर लगे। फेरी उही गोठाला, मेलापातमा उनको दैनिकी कट्न थाल्यो। साथीभाइले विभिन्‍न होच्याउने किसिमका शब्दले हेप्‍न थाले।  काठमाडौं छउन्जेल उनको घाउ दुख्थ्यो, गाउँ पुगेपछि मन दुख्‍न थाल्यो। त्यसैले उनी भागेर काठमाडौं आए। 

काठमाडौंको बेशीगाउँमा माधव हमालको घरमा काम थाले। माधव मनकारी थिए। उनलाई आरुबारीको अरुणोदय माध्यमिक विद्यालयमा भर्ना गरिदिए। रामबहादुर १० वर्षको भइसकेका थिए। तै पनि उनले सानै कक्षा देखि पढाइ शुरू गरे। 

पढाइ राम्रै थियो। आफुले पढेर अरुलाई पढाउने इच्छा पनि बिस्तारै पूरा हुने विश्‍वासमा थिए उनी। कक्षा आठमा पढ्दापढ्दै परिवारले फुपुकी छोरी सानुमायासँग उनको बिहे गराइदिए। बिहेपछि पढाइ राम्रो भएन। बिहे गरेको दुई वर्षमा छोरा जन्मियो। अब जिम्मेवारीको भारीले उनलाई थिच्न थाल्यो। कक्षा दशको टेस्ट परीक्षामा फेल भए। त्यसपछि पढाइ छुट्यो।

उनी र उनको परिवार ठिमीको गार्चामा सरे। त्यहाँ उनले भेटेजति सबै काम गर्न थाले। बिहान ३ बजेदेखि काठमाडौं पठाउने तरकारी खेतबाट ठिमीको बजारसम्म बोकेर ल्याउँथे। ७० देखि ८० किलोको एक भारी बोकेको जम्मा १० रूपैँया आउँथ्यो। दिउँसो घर बनाउने काममा जान्थे। धेरै समय काम, थोरै आराम हुन्थ्यो। तै पनि बाध्यता थियो। यतिबेलासम्म उनको परिवारमा छोरी पनि जन्मिसकेकी थिइन्। गाउँमा बुढा भएका आमा बालाई पनि हेर्नु थियो। छोराछोरी पढाउनुपर्ने थियो। 

जिन्दगी चलिरहेको थियो। घर बनाउने काममा उनी भारी बोक्नेबाट मिस्त्री भएका थिए। राम्रै कमाइ हुन थालेको थियो। 

२०६७ पुसको महीना थियो। सँधैझै उनी बिहान तरकारीको भारी बोकिरहेको बेलामा मोबाइल बज्यो। दिउँसो सँगै काम गर्ने साथी रहेछन्। फोन उठाए- “राम, गाडी रिजर्भ गरेर ठेकेदारसँगै हामी सबै जान तातोपानी जान लागेका छौं। जाने भए तिमी पनि हिँड, केही सामान लिएर फर्किउँला।” 

काठमाडौंमा भन्दा तातोपानी, खासामा चिनियाँ सामान सस्तोमा पाइन्थ्यो। भोलिपल्ट बिहानै उनीहरू यात्राका लागि निस्किए। खासाबाट सबैले घरका लागि सामान किने। रामबहादुरले अरु सामानसहित टिभी किने। 

१८ पुसमा फर्कने क्रममा दोलालघाटमा गाडी एक्कासी अनियन्त्रित भयो। एकै छिनमा पल्टियो। 

त्यसपछि के भयो, उनलाई सम्झना छैन। अचेत भएछन्। होस आउँदा शरीर चल्मलाउन नहुने गरी दुखेको थियो। केही मानिसहरूले उनका साथीहरुलाई उद्धार गर्दै गरेको उनले देखे। उनले गुहारे तर, कसैले सुनेन। कोही उनीतिर फर्किएन। 

“म बचाउ बचाउ भनेर कराइरहेको थिएँ। सायद मलाई बोलेजस्तो लागे पनि मेरो आवाज निस्किएको थिएन,” उनी भन्छन्, “बोलाएको कसैले सुनेनन् भन्‍ने भएपछि मलाई लाग्यो, म त मरिसकेछु। प्राण त उडि पो सकेछ। मृत्यु सायद यस्तै हुँदो हो भन्‍ने सोचिरहेको थिएँ।”

एकाध फिल्ममा हेरेको घटना जस्तै लागेको थियो उनलाई आफ्नो जिन्दगी। आफ्नो मृत्युको भ्रमलाई सत्य ठानेर उनले आँखा बन्द गरे। रोए कराए, एकछिनमा उनी शान्त भए। केही बेरपछि एक्कासी कसैले उनको कानमा भएको मुन्द्रा तान्यो। “कानमा कसेर लगाइरहेको मुन्द्रा तान्दा त ठूलो चट्याङ मै माथि बज्रियो भन्‍ने भयो। एकदमै दुख्यो। जोडजोडले चिच्याएँ। कानमा कानको लोती नै चुँडिएको जस्तो भयो,” उनी भन्छन्, “म चिच्चाएको सुनेपछि बल्ल अरु मानिस म नजिक आएर ए यो मान्छे त जिउँदै रहेछ भन्‍न थाले। उनीहरूले जिउँदै रहेछ भनेपछि मलाई पनि मरेको रहेनछु भन्‍ने लाग्यो।” 

उनलाई एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल ल्याइयो। अस्पताल पुग्दा रातिको १ बजिसकेको थियो। अस्पतालबाटै उनकी पत्नी सानुमायालाई बोलाइयो। रातको दुई बजे छिमेकी भाइसँग उनी अस्पताल पुगिन्। 

रामबहादुरको अवस्था देखेर सानुमाया रोइन्। उनको माथिल्लो ओठ च्यातिएको थियो। नाडीमा घाउ लागेको थियो। ढाडमा गम्भीर चोट लागेको थियो। डाक्टरले त ललितपुरको बिएन्डबी अस्पताल जाउ भनेमा हुन्। धेरै खर्च हुने सोचेर उनीहरू धुलिखेलमै उपचार गराउन बसे। ढाडमा दुईवटा रड हालियो।  एन्टिबायोटिक खाएरै ओठ र नाडीको घाउ निको भएको थियो। हप्तौँसम्म पनि उनी उठेर बस्‍न सक्ने भएनन्। 

उनको परिवार नै गाउँ गए। त्यहाँ उनलाई झन् गाह्रो भयो। गाउँलेहरूको हेलाहोचो झन् बढेर गयो। उनी भन्छन्, “गाउँले, आफन्तले के मात्रै भनेनन् मलाई ? तिमी त अपांग भयो। तिम्री बुढी पोइल जान्छे। आमाबा भोकै मर्छन्, छोराछोरीको बिचल्ली हुन्छ भन्थे।”  

यो सुन्दा उनलाई चाँडै नै निको भएर उनीहरूकै अगाडि ठमठम हिँड्न मन लाग्थ्यो। धुलिखेलका डाक्टरले काभ्रेको साँगामा रहेको स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रमा पठाए। त्यहाँ पुगेपछि उनलाई काउन्सिलिङ गरियो।   

डाक्टरहरू राजु ढकाल, जोनिका जिशीले उनलाई हौसाउँथे। भन्थे, ‘तिम्रो मेरुदण्डमा चोट लागेको छ। अब तिमी हिँड्न सक्दैनौँ। अब तिमीले मुटु दह्रो पार्नुपर्छ। डराउनुहुन्‍न।’

“आफ्नै खुट्टामा उभिएर ठमठम हिँडेको मान्छेलाई हिँड्न सक्दैनौँ भनेको सुन्दा रीस उठ्थ्यो। चोट केही दिनमा निको हुन्छ र फेरी पहिले जस्तै हिँडडुल गर्न सक्छु भन्‍ने सोंच्थे,” उनी भन्छन्। 

तर सोचेजस्तो कहाँ हुन्छ र जीवन ? रामबहादुरको पनि भएन। वास्तविकता स्वीकार्न शुरु शुरुमा उनलाई निकै गाह्रो भयो। उनी साढे तीन महीना त्यहाँ बसे। त्यहाँ उनले आफुजस्तै अन्य साथीलाई भेटे। कम्प्युटर चलाउनेदेखि थाङ्का चित्र कोर्ने, लुगा सिउने जस्ता सीप सिके। बास्केट बल टिमको क्याप्टेन भएर खेले। पौडी खेले। त्यसपछि उनले आफ्नो जीवनको सत्यलाई स्वीकार्दै गए। त्यसमै नयाँ जीवन भेटे। 

आफन्तको हेलाले नै उनलाई अगाडि बढ्न हौसला मिल्यो। पुनस्र्थापना केन्द्रबाट निस्किएर उनले तातोपानीमा सोनाम शेर्पासँग मिलेर थाङ्का चित्र कोर्ने र सिकाउने काम थाले। ११ जनाको टिमलाई सिकाउँथे उनी। त्यहाँ काम गर्दागर्दै पुनस्थापना केन्द्रले उनलाई सँगै काम गर्ने प्रस्ताव राख्यो। त्यसपछि उनले भोकेश्नल सहायक टे«नरको रूपमा काम थाले। साथै म्याराथनमा समेत भाग लिन थाले। 

नेपालमा दुर्घटनामा परेकामध्ये धेरैको स्पाइनल इन्जरी हुने गरेको रामबहादुर बताउँछन्। त्यसकारण सवारी साधन चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन र जनचेतना फैलाउन रामबहादुरले एउटा कदम चाले।  

सन् २०१४ मा उनले धुलिखेलको नमोबुद्धदेखि लुम्बिनीसम्म ह्विलचेयर यात्रा गरे। यात्रा गर्ने क्रममा उनले बाटोमा भेटिएकाहरूलाई सावधानी अपनाउन र आफु जस्तै अशक्तहरूलाई प्रेरणा दिँदै गएको सुनाउँछन्। उनी भन्छन्,  “यो यात्रा तय गर्न मलाई २६ दिन लागेको थियो। यो बिचमा मैले धेरै मानिसहरूलाई भेटेँ। उनीहरूलाई स्पनाइनल इन्जरीबारे जानकारी दिएँ, सवारीसाधनमा यात्रा गर्दा सावधानी अपनाउन भनेँ।” आफूलाई देखेर घरभित्रै लुकेर बस्‍नेहरू पनि बाहिर आउन् भन्‍ने चाहन्थे उनी।

स्पाइनल इन्जरी पुनस्थापना केन्द्रले उनको लागि एम्बुलेन्स र स्वयमसेवक साथै पठाइदिएको थियो। उनको यात्रालाई अमेरिकी नागरिक रोजी रोज ल्याण्डले पनि साथ दिए। रोजीले उनको यात्राको लागि ३ हजार ७२० अमेरिकी डलर पठाएका थिए। 

त्यसपछि उनले सन् २०१७ मा फेरि लुम्बिनीदेखि बोधगयासम्म ह्विलचेयर यात्रा गरे। यति मात्रै नभई उनले देश र देशबाहिर म्याराथनमै भाग लिएर मेडल पनि जितेका छन्। उनी जीतको श्रेय पत्‍नी सानुमायालाई दिन्छन्। भन्छन्, “म दुर्घटनामा परेर यस्तो अवस्थामा पुगे पनि माया दिएर, सहयोग गरेर अगाडि बढाउने उनै हुन्।”

अहिले रामबहादुर बनेपास्थित भोकेसनल अपरच्युनिटी फर इन्क्लुजन टु कम्युनिटी एन्ड इम्प्लोएमेन्टमा भोकेसनल ट्रेनरको रूपमा काम गर्छन्। छोरा विधान १६ वर्ष र छोरी बिनिता १४ वर्षका भएका छन्। परिवार खुसी छ। 

रामबहादुरले सानोमा देखेको सपना अहिले पूरा गर्दैछन्। बनेपामा उनले घर बनाउँदैछन्। छोराछोरीलाई राम्रो विद्यालयमा पढाएका छन्। त्यसैले उनी जस्तोसुकै परिस्थितीमा पनि हार खान नहुने बताउँछन्। उनी भन्छन्, “जिन्दगी भनेको हरियो पात जस्तै हो। आजसम्म रुखमा हावाले हल्लाइरहेको पात भोलि हेर्दा भुईमा सुकिरहेका हुन्छन्। बाँचुञ्‍जेल रमाइलो गर्ने हो। हिम्मतले काम गरे देखेका सपना पूरा गर्न कसैले रोक्न सक्दैन।” 

पक्कै पनि रामबहादुरले भने झै सपना पूरा गर्न आँट नै चाहिन्छ। आँखाको नानी फुट्दैमा ती आँखाले सजाएका सपना टुटेनन्। मेरुदण्डमा चोट लागेर गोडा नचल्ने भए पनि उनी हिँड्न छोडेनन्। झन् हिँडेर राष्‍ट्रिय गौरवको पात्र बने। 

उनले आफ्नो जीवन समाजसेवामा पनि सक्रिय बनाएका छन्। त्यसैको एक पाटो हो, मास्क बनाउने र वितरण गर्ने हालैको प्रयास। उनले आफ्नै खर्चमा बनाएका मास्क साथीभाई लगायत, अशक्त बिरामीहरूलाई बाँडेका छन्। भन्छन्, “महामारीको यो समयमा मास्क धेरै नै आवश्यक छ। बजारमा अभाव छ। कतिले किन्‍न पनि सक्दैनन्। त्यसैले मैले युट्युबमा हेरेर मास्क बनाएको सिकें। यति सामान्य सामग्री नहुँदा कोही पनि संक्रमित नहोउन् भनेर निशुल्क बाँड्दै छु।”